काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहर विर्सजन गर्ने नुवाकोटको सिसडोललाई एक हप्ताभित्र दुर्गन्धमुक्त बनाउने आश्वासन दिएका छन् । डेपुटी मेयर सुनिता डंगोलसहित आज शुक्रबार बिहान काठमाण्डौको फोहर विर्सजन गर्ने सिसडोलको अनुगमन गर्ने क्रममा स्थानीयबासीको गुनासो सुनेपछि मेयर शाहले केमिकल हालेर एक हप्ताभित्र त्यहाँ दुर्गन्ध आउने अवस्थाको अन्त्य गर्ने बताएका हुन् ।
त्यसका लागि आफूले विज्ञहरूसँग आवश्यक छलफल गरेको पनि उनले बताए । मेयर शाहले तीन महिनाभित्र मल र ग्याँस दुबै निकाल्न सुरु गरेर त्यहाँको फोहर व्यवस्थापन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । मेयर बालेन शाहले फोहर व्यवस्थापनका लागि सड्ने र नसड्ने फोहर छुट्टयाउनुपर्ने उल्लेख गर्दै त्यसका लागि छिट्टै काठमाण्डौवासीको घरघरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरे ।
त्यस अवसरमा उनले तत्कालका लागि भने काठमाण्डौमा थुप्रिएको फोहर व्यवस्थापनमा अवरोध नगर्न पनि स्थानीयवासीसँग आग्रह गरे । उनले भने,‘काम गर्न भनेर आएको हामीलाई काममा बाधा नगर्नुस् । हामीलाई काम गर्न सहयोग गर्नुस् । तपाईँहरुले काम गर्न दिनुभयो भने हामीले चाँडै नै यहाँको समस्या समाधान गर्ने छौं ।’ मेयर शाहले आफ्नो पहिलो प्राथमिकता काठमाण्डौको फोहरबाट सिर्जित समस्या समाधान गर्नु रहेको पनि पटक–पटक दोहोर्याए । स्थानीयबासीले भने आफूहरूको माग सम्बोधन नगरेसम्म काठमाण्डौको फोहर विर्सजन गर्न दिन नसकिने अडान राखेका थिए ।






