काठमाण्डौ । विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन् । पालिका चुनाव २०७९ मा सोचेअनुसार परिणाम ल्याउन नसकेको कारण देखाउँदै उनले आफूले राजीनामा दिएको बताएका छन् । मिश्रले आफ्नो फेसबुक पेजमा स्टाटस शेयर गर्दै यसबारे जानकारी गराएका छन् ।
‘हाम्रा उम्मेदवारहरू इमानदार र सक्षम हुँदाहुँदै राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी पार्टी नेताका रूपमा मैले लिनुपर्छु’ उनले लेखेका छन् । ‘निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा आजकै मितिबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’
उनले आफू पार्टीको साधारण सदस्य भने रहिरहने बताएका छन् । योपनि पोखराका नवनिर्वाचित मेयर धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताएका छन् । आज बिहान मेयरमा निर्वाचित भएको घोषणापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै आचार्यले महानगर र महानगरअन्तर्गतका वडा कार्यालयको सेवा व्यवस्थित र बिनाझन्झट प्रदान गरिने बताए ।
उनले ने, ‘हाम्रो पहिलो काम पोखरालाई सुशासनको प्रत्याभुत दिने हुनेछ, महानगर र वडाबाट पोखरेली नागरिकलाई दिने सेवा व्यवस्थितरूपमा बिनाझन्झट प्रदान गर्छौँ ।’ पोखराको समग्र विकासका लागि पूर्वाधार निर्माणलगायत अल्पकालीन र दीर्घकालीन हिसाबले काम गर्ने प्रतिबद्धता जनाउँदै आचार्यले निर्वाचन घोषणापत्र अनुसार निर्वाचित भएको एक महिना, छ महिना, एक वर्ष र पाँच वर्षभित्रमा के–के काम गर्ने भनेर कार्ययोजना निर्माण गरेर अघि बढ्ने स्पष्ट पारे ।
पोखरेलीको जीवनयापन कसरी सहज र सरल बनाउन सकिन्छ भनेर कार्यक्रम ल्याइने उनले बताए । पाँच दलको शक्ति, सामाजिक क्षेत्रमा गरेको योगदानका कारणले जित सम्भव भएको उल्लेख गर्दै आचार्यले ठूलो सङ्ख्यामा मत बदर नभएको भए मतान्तर अझै बढ्ने बताए । आचार्य नेकपा एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत पाएका थिए ।






