काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र तर्फका उम्मेदवार बालेनले एक हजार भन्दा धेरै मत ल्याएर अग्रता कायम राखेका छन् । साहले दुई हजार दुई सय ३८ मत ल्याएका छन् भने एमालेबाट मेयरका उम्मेदवार केशव स्थापितले एक हजार दुई सय १९ मत ल्याएका छन् ।
यस्तै, गठबन्धनबाट मेयर उम्मेदवार नेपाली कांग्रेसकी सृजना सिंहले एक हजार ८१ मत प्राप्त गरेका छन् । यस्तै, उपमेयरमा एमालेकी सुनिता डंगोलको फराकिलो अग्रता छ । डंगोलले एक हजार सात सय ४३ मत ल्याएकी छन् । त्यसैगरी एकीकृत समाजबादीका रामेश्वर श्रेष्ठले ५ सय १६ मत ल्याएका छन् । ललितपुर महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै छ ।
ताजा मत परिणाम अनुसार महर्जनले ८ सय २३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यञ्जनकारले ३ सय ८१ मत प्राप्त गरेका छन् । उपमेयरमा भने एमालेलाई अग्रता छ । एमालेका उपमेयर उम्मेदवार मञ्जली शाक्य ४ सय २० मतसहित अगाडि छन् । गठबन्धनका माओबादी केन्द्रका उम्मेदवार बाबुराज बज्राचार्यले एक सय ६७ मत ल्याएका छन् ।
यसैबीच, ललितपुर महानगरपालिकाको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । यो वडामा स्वतन्त्र उठेका निर्मल तण्डुकार ६ सय ६१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी धु्रबलाल तण्डुकारले ३ सय ८१ मत प्राप्त गरेका छन् ।






