काठमाण्डौ । नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएका केशव स्थापितले आफू विजय भएमा योजना भएका मानिसहरूलाई मात्रै आफ्नो टिममा समावेश गर्ने बताएका छन् । आज सोमवार न्युज एजेन्सीसँगको कुराकानीमा उहाँले हरेक क्षेत्रमा काम गर्नका लागि भिजन भएकाहरूको आवश्यक पर्ने भएको र त्यो योजना युवा पुस्तामा मात्रै रहेकोले युवालाई आफ्नो टिममा समावेश गरेर विकासका कार्यक्रमलाई अघि बढाउने बताए ।
मेयरका उम्मेदवार स्थापितले युवामा पनि महिलाले भ्रष्टाचारका गतिविधि गरेको नदेखेको भन्दै उनीहरूलाई आफ्नो टिममा समावेश गरेर काम गर्ने उल्लेख गर्नुभयो । उहाँले भिजन भएका युवालाई आफ्नो टिममा आउनका लागि आह्वानसमेत गरे । उनले भने, ‘सबै ज्ञान भएका मान्छे बाहिर हुने र केही थाहा नभएका मान्छे टोलीमा हुनु हुँदैन, त्यसैले मैले युवा इन्जिनियर आउ भनेको छु ।
स्वास्थ्यको क्षेत्रमा काम गर्ने मानिस आउ, मसँग भएका फोरममा आएर काम गर्ने यो पुस्ता हो । हाम्रो पुस्ताले काम लाग्दैन । हामीले वातावरण मिलाउनका लागि केही समय काम गर्ने हो । मलाई धेरै विश्वास भनेको युवामा छ । त्यसमाथि पनि महिलामा धेरै विश्वास छ । उनीहरू आएर आफ्नो खुबी देखाउन् । बराबरीभन्दा धेरै महिलाको सहभागिता चाहेको छु । म कैयौँ कुरा सुधार गर्छु ।’
स्थापितले आफू मेयर बनेपछि सबैभन्दा पहिला त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्ने बताए । अहिले भइरहेको कलेजको पढाइलाई केही परिवर्तन गरेर त्रिचन्द्रलाई स्तरोन्नति गर्ने उनको भनाइ छ । कलेज पुनर्निर्माण गर्दा सबै पार्टीको अवधारणाअनुसार मिलेर काम गर्ने पनि उनले बताए । फोहर व्यवस्थापन गर्न नसक्दा काठमाण्डौको सुन्दरता नै खलबलिएको स्थापितले बताए ।
मेयरका उम्मेदवार स्थापितले काठमाण्डौ महानगरपालिकाभित्र रहेका केही सांस्कृतिक सम्पदाहरू लोप हुन लागेको भन्दै ४८ वटा सम्पदाको एकै पटक जग हालेर काम सुरु गर्ने बताए । उनले सरकारले सार्वजनिक ठाउँमा शौचालय नबनाउने र दिसापिसाब गर्दा कारबाही गर्ने गरेको भन्दै पहिला शौचालय बनाएर मात्रै नियम कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
न्युज एजेन्सीसँगको कुराकानीमा उनले भने,‘मैले अहिले मानिसहरूले बिर्सिसकेका ४८ वटा मन्दिर छानेको छु । २०९० सालको भूकम्प गएपछि कसैले विषय नै उठाएको छैन । ती ४८ वटाको जग म एकै पटक हाल्छु । काठमाण्डौमा म ६ महिनाभित्रमा विभिन्न पार्कहरू बनाउँछु । शौचालय नबनाउने अनि पिसाब फेरे कारबाही गर्ने भन्ने हुन्छ रु मोटरसाइकल पार्किङ स्थल नबनाउने अनि पार्किङ गर्यो भनेर समात्ने हुन्छ ? सबै बनाउनुपर्छ नि । म यसबारेमा विभिन्न फोरम बनाएर काम गर्छु ।’
स्थापितले अहिले पनि दुई सय ५० भन्दा धेरै खाली जग्गा (सरकारी सम्पत्ति) पर्खाल लगाएर राखेकाले त्यसलाई भत्काएर नयाँ संरचना बनाउने बताए । उनले सबै क्षेत्रलाई ठाउँ मिल्ने गरेर कार्यक्रम बनाउने घोषणा गरे । काम गर्न सरकारीतर्फबाट व्यवधान आए अदालतबाट न्याय खोजेर भए पनि काम गर्ने उनले प्रतिबद्धता जनाए । मेयरका उम्मेदवार स्थापितले भने, ‘म प्रमाणित मान्छे हो । म पहिला काम गरेर देखाउँछु अनि सबैले भन्नेछन् यसले काम गर्छ भनेर । मैले मण्डला बनाएँ । राति चिसो केही नभनिकन आफैँ उभिएर बनाएको हो । म काठमाण्डौलाई बनाउन सक्छु । मसँग त्यो कला छ ।’
स्थापितले आफ्नो विज्ञ टिमले महानगरले ४८ अर्ब रुपैयाँ राजस्व उठाउन बाँकी रहेको पत्ता लगाएको र त्यो रकम आफू मेयर बनेको ६ महिनाभित्र उठाएर महानगर विकासका लागि काम गर्ने प्रतिबद्धता जनाए । उनले काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै काम गरेको तर भन्न नजानेको दाबी गरे । भूकम्प र कोरोनाकालमा समेत विकासका कामहरू भएकोप्रति उनले खुशी व्यक्त गरे
केशव स्थापित धेरैजसो महानगरवासीले सुनेको नाम हो । अज काठमाण्डौ महानगरवासीका लागि त स्थापित मेयर साबबाट परिचित छन् । उनी यसअघि दुई पटक काठमाण्डौको मेयर भई सकेका हुन् । खेलकुद परिषद्को सदस्य सचिव, उपत्यका विकास प्राधिकरण प्रमुख, बाग्मती प्रदेशका लागि भौतिक योजना तथा विकास मन्त्रीसमेत बनिसक्नुभएका स्थापितले मेयरमा रहँदा भने महानगरवासीका लागि सम्झन लायक केही काम गरेका थिए ।
स्थापितको पालामा काठमाण्डौ महानगरमा धेरै काम भएको र उनले नै काठमाण्डौमा आकाशे पुल, सडक फराकिलो बनाउने कामको सुरु गरेको एमालेका नेताहरूको दाबी छ । तिनै स्थापित यस पटक नेकपा एमालेको तर्फबाट फेरि काठमाण्डौ महानगरको मेयर पदमा उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धीको रूपमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकी छन् । उज्यालोबाट ।






