रुपनी जि.एम
बर्दिया । बैशाष ३० गते हुन गई रहेको स्थानिय तहको निर्वाचनको मिती नजिकिंदै गईरहेको छ । यो अन्तरवार्ता तयार गर्दासम्म निर्वाचन आउन अब जम्मा ७ दिन मात्र बाँकी छ । जतिजति निर्वाचनको समय नजिकिंदै छ उतिउति उम्मेदवारहरु गाउँगाउँमा चुनावि माहोल तताउन तिर लागि रहेका छन् । पहिलो चरणको घरदैलो कार्यक्रम सकेका उम्मेदवारहरुले दोश्रो चरणको पनि घरदैलो कार्यक्रम शुरु गरिसकेका छन् ।
सम्भवत दोश्रो चरणको घरदैलो कार्यक्रम पनि लगभग सकिन लागेको उम्मेदवारहरु बताउँछन् । यस पटकको स्थानिय निर्वाचनमा उम्मेदवारहरु बढी मात्रामा युवाहरु नै बढी छन् । तिनै युवा मध्यका एक हुन् बर्दियाको बाँसगढी नगरपालिकाका एमाले उम्मेदवार खड्क बहादुर खडका । वि.सं. २०४४ सालदेखि राजनीतिक यात्रामा लागेका खड्का लामो समयको राजनीतिक अनुभव बटुलेर अहिले बाँसगढी नगरपालिकामा मेयरको उम्मेदवार बनेका छन् ।
राजनीतिक जीवनमा उतार चढाव भोगेका खड्काले गठबन्धनका बीच पार्टीले दिएको जिम्मेवारीप्रति खरो उत्रनु उनकालागी अर्को एउटा चुनौतिको विषय बनेको छ । पाँच दलको गठन्धनसंग नेकपा एमाले एक्लै चुनावी मैदानमा प्रतिस्पर्धामा उत्रीएको छ । गठबन्धनको प्रतिस्पर्धालाई चिर्दै विजय हाँसिल गर्न खड्क बहादुुरलाई कत्तिको कसरत गर्नु परिरहेको छ ? उनी उम्मेदवार भएको नगरपालिकामा के भन्छन् त्याहाँका जनताहरु ? यी र यस्तै प्रश्नहरुका साथमा उनीसंग गरिएको कुराकानीका केही अंश
चुनाव आउन अब जम्मा एक हप्ता बाँकी छ । दौडधुप कसरी गर्दै हुनुहुन्छ ?
स्वभाविक रुपमा निर्वाचन अगाडी बढी सकेपछि चुनाव जति नजिकिन्छ त्यति नै दौडधुप हुन्छ । एक उम्मेदवार भएको नाताले त्यति नै धेरै प्रेसर बढ्छ, त्यति नै धेरै घरदैलो कार्यक्रमहरु गरिन्छ । मतदाताहरुकोमा पुग्ने काम पनि त्यति नै गरिन्छ । आफ्ना कुराहरु मतदाताहरुको माझ राखिन्छ । यी कुराहरु त स्वभाविक नै हुन् नी ।
के कुराहरु राख्नु भएको छ त ?
खासगरी हामीले मतदाताका बीचमा राख्ने भनेको पहिलाको पाँच वर्षे स्थानिय सरकार बाँसगढीमा सञ्चालन गरेका छौं । र बाँसगढीको सम्बृद्धि र विकासका निम्ति यसको जग खडा गरेका छौं । त्यो जगमा उभ्भिएर अबको पाँच वर्षमा यहाँको सम्बृद्धि र विकासका कुराहरुलाई पुरा गर्ने गरी हामीले लिखित रुपमै प्रतिबद्धताहरु जाहेर गरी सकेका छौं । ती प्रतिबद्धताहरुलाई कार्यान्वयन गर्ने गरी हामी लागि पर्नेछौं । यस्मा विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि जस्ता आधारभूत कुराहरुलाई नै प्राथामिकतामा राखेका छौं । युवा रोजगारी श्रृजना गर्नुको साथै यहाँका भौतिक पुर्वाधारहरुलाई पनि प्राथामिकतामा राखेर अगाडी बढेका छौं ।
घरदैलोमा जाँदा खेरी जनताहरु के भन्छन् ? तपाईँहरुप्रति उहाँहरुको प्रतिकृया कस्तो छ ?
जनताहरु हामीप्रति सकारात्मक हुनुहुन्छ । उहाँहरुकै भरोसा जीतेर सत्ता सञ्चालन गर्ने हाम्रो पार्टीको कार्यक्रम छ । नीति छ । हाम्रो विचार छ । र त्यही विचारलाई लिएर हामी जनताको माझमा गई रहेका छौं । उम्मेदवारी मनोनयन दर्ता गरेको दिनदेखि आजसम्म हामीले गर्दै आएको घरदैलो कार्यक्रममा कसैले पनि हामीलाई नकारात्मक टिप्पणीहरु गर्नु भएको छैन । बरु उल्टै जित्नुस् र हाम्रो गाउँ ठाउँ बनाउनुस् भन्दै हामीलाई आर्शिबाद दिनु हुन्छ ।
घरदैलोमा जाँदा जनताले तपाईँलाई आफ्ना कुरा पुरा गरिदिए मात्र भोट दिन्छौं नत्र दिंदैनौं भनेर भनेका छन् कि छैनन् ?
जनताले हामीबाट अपेक्षा राख्नु स्वभाविक नै हो । घरदैलोमा जाँदा उहाँहरु मध्य कतिपयले नितान्त आफ्ना कुुराहरु सुनाउनु हुन्छ । भने कतिपयले आफ्ना गाउँघरको विकासका कुराहरु गरिदिनु पर्यो भन्दै विकास गर्ने ठाउँहरु समेत देखाउनु पनि हुन्छ । तर मैले चुनाव लड्ने नगरपालिकाका जनतालाई एउटा कुरा के प्रष्टसंग थाहा छ भने हाम्रो पार्टीको स्थानिय सरकारले विगत पाँच वर्षमा गरेको काम र गर्न बाँकी रहेको कामलाई हामीले नै पुरा गर्नेर्छौं भन्ने उहाँहरुलाई राम्रै थाहा छ । त्यसैलेपनि उहाँहरुले आफ्ना अपेक्षाहरु राख्नुका साथै ‘राम्रो गर्नु भएको छ अझैं राम्रो गर्नुहोला’ भन्ने सल्लाह र सुझाव दिनु हुन्छ ।
पाँच दलको गठबन्धनसंग तपाईँ एक्लैको प्रतिस्पर्धा छ । जीत हाँसिल गर्न सक्नु हुन्छ ?
गठबन्धनसंग प्रतिस्पर्धामा चुनाव लड्नै पर्छ । यो तय भई सकेको कुरा हो । तर हामीले हाम्रो जीतलाई निश्चित गरेका छौं । किनभने हाम्रो पार्टीमा एकमत, एकधार र एकप्रणाली छ । सबैको एकता कायम भएको हुनाले गठबन्धनको जस्तो सुकै बादल मडारिएता पनि त्यसलाई हामीले सहजै चिर्ने छौं र सुर्यलाई उदाउने छौं ।






