रुपनी जि.एम
बाँके, नेपालगञ्ज । बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि राप्रपाबाट नेपालगञ्जको उपमेयरमा बिन्दु चर्ती मगर महिला तर्फको एक्लो उम्मेदवार हुन् सफल भएकी छन् । बाँकेका आठ पालिका मध्ये नेपालगञ्ज उपमहानगर पालिकामा राप्रपाबाट बिन्दु चर्ती मगरलाई उपमेयरकालागि उम्मेदवार चयन गरिएको छ । राजनितिक, सामाजिक र व्यक्तिगत यी सबै क्षेत्रमा स्वच्छ छवी बनाउन सफल भएकै कारणले पनि युवा नेतृ चर्ती मगरलाई राप्रपाले उपमेयरको उम्मेदवारकालागी चयन गरेको हो ।
पार्टीको उपाध्यक्ष समेत रेहेकी नेतृ बिन्दु चर्तीलाई पार्टीले एउटा योग्य, होनहार र पार्टीप्रति कटिबद्ध भएर लागिपरेकी ईमानदार नेताको रुपमा चिन्दै आएको छ । उनले बैशाष ३० गते हुन लागिरहेको स्थानिय चुनावमा टिकट पाउनुको एउटै कारण छ विगत १५ वर्षदेखि राप्रपामा आवद्ध भएर उनले पार्टीले दिएको सबै खाले जिम्मेवारीलाई इमान्दारीताका साथ सम्हाल्दै आएकी छन् । युवा नेतृ चर्ती मगर रेडक्रस गनापुरको उपशाखा सचिव लगायत अन्य संघसंस्थामा आवद्ध रहेर अहिले उनी अन्य मलिाका तुलनामा अग्रपंक्तिमा छिन् ।
सहयोगी भावना र मिलसार स्वभावका साथै पढेलेखेकी, जुझारु र उर्जावान् युवा नेतृ चर्ती मगरको पहिचान केवल एउटा राजनितिक छवि मात्र सिमित छैन । उनी यस क्षेत्रकै चर्चित पुष्प व्यावसायिका रुपमा पनि उत्तिकै परिचित छिन् । महिला भएकै नाताले उनले पार्टिको मात्र नभई अन्य महिलाहरुलाई पनि राजेगार लगाएत उनीहरुलाई आवश्यक परेको सबैखाले सहयोगहरु गर्दै आएकी छन् । २०६२ देखि राप्रपाको राजनीतिमा होमिएर आजसम्म उनले आफ्नो पार्टीलाई धेरै अतुलनिय योगदान पुर्याएकी छन् । उनै उपमेयरकी उम्मेदवार बिन्दु चर्ती मगर संग गरिएको कुराकानीको केही अंश
चुनावको तयारी कसरी गर्दै हुनुहुन्छ ?
जनताको घरघरमा जाने । नेपालगञ्ज र यहाँ बासिन्दाहरुकालागी आफुले गर्ने कामका बारेमा जानकारी गराउने । राजनीतिसंगसंगै म आफैमा एक व्यापारि महिला भएको हुनाले पनि मेरो प्राथामिकता जहिले पनि महिलालाई हुने गर्दछ । त्यसैले विशेष गरी महिलाहरुलाई राजनीतिको मूूलधारमा आउनु पर्छ र साथै आर्थिक रुपमा सबै महिलाहरु सक्षम हुनै पर्छ भन्नेमा रहन्छ ।
यिनै कुराहरु महिला दिदीबहीनीहरुलाई सम्झाउने र बुझाउने गर्दै चुनावको तयारी भईरहेको छ । साथै यस क्षेत्रको समग्र विकासको कुरालाई पनि नयाँ तरिकाले गर्नेछौं जुन कुरा आजसम्म कुनैपनि जनप्रतिनीधहरुले गरेका छैनन् भन्दै आफ्ना योजनाहरुलाई प्रतिबद्धता पत्र मार्फत घरदैलो कार्यक्रम गरेर जनता सामू पयाउँदै र प्रत्यक्ष रुपमा जनताका कुरा सुन्दै चुनावको तयारी गरिरहेका छौं ।
नेपालगञ्ज उपमहानगर पालिकामा के कालागी तपाईँको उम्मेदवारी ?
नेपालगञ्ज आफैमा यस क्षेत्रको ठूलो व्यापारिक केन्द्रको रुपमा चिनिने शहर हो । तर यहाँ व्यापारमा महिलाहरुको खासै न बाहुल्यता छ न त बर्चस्व नै छ । व्यापारिक केन्द्र र व्यापारिक नाकाको रुपमा चिनिएको नेपालगञ्जमा महिलाहरु ५० प्रतिशत पनि व्यापारि छैनन् । एकाध कोही यदि छन् भने ती अपबादमा । केहीकेही फुटकर व्यापारिका रुपमा चिनिएका छन् ।
तर तिनीहरुको गरणा नै हुँदैन । व्यापारिक हिसाबले निकै नै ठूलो मानिएको नेपालगञ्जमा त पुरुष जत्तिकै महिलाहरुपनि व्यापारिका रुपमा चिनिनु पर्ने हैन र ? तर यहाँ यो विषयमा निकै नै विडम्वनापुर्ण स्थिति छ । र मेरो उम्मेदवारी भनेको महिलाहरुलाई आत्मनिर्भर गराउँदै व्यापारमा पुरुषसंगै होस्टेमा हैंसे गरेर अगाडी बढाउनमा सहयोग गर्ने हो ।
यति मात्र नभई मेरो उम्मेदवारी भनेको यहाँका भौतिक संरचनाहरुलाई पुनरनिमार्ण गर्दै नेपालगञ्जलाई ‘ग्रीन नेपालगञ्ज र क्लिन नेपालगञ्ज’ गराउनु पनि हो । किनभने यो शहर देशका ठूला शहर मध्यको एक एउटा यस्तो शहर हो जहाँ दक्षिणबाट आउने पर्यटकहरुमा मात्र नभई एनजिओ र आईएनजिओहरुले पनि यस शहरलाई नै मूूल थलो बनाउँदै दुुरदराजका गाउँहरुमा जानकोलागी मध्यमार्गी बाटोको रुपमा प्रयोग गर्ने भएको हुनाले पनि यस्लाई पुर्ण रुपले ‘ग्रीन नेपालगञ्ज र क्लिन नेपालगञ्ज’ बनाउनकालागी मेरो उम्मेदवारी हो ।
पाँच दलको गठबन्धन एकातिर, देशकै ठूलो शक्तिको रुपमा रहेको नेकपा एमाले अर्कोतिर यी दुवैको बीचमा निर्वाचन आउनु अघि विभाजित पार्टीबाट उम्मेदवारी दिएको तापाईँ जित्छु भन्नेमा कत्तिको विश्वस्त हुुनुहुन्छ ?
यस पटकको निर्वाचन पहिला पहिलाको जस्तो हुँदैन । किनभने समय परिस्थितिसंगै सबै कुरा बदलिएको छ अनि योसंगै बदलिएको छ जनताको मेन्टालिटी पनि । अब जनताले पार्टी हेर्दैनन् । अब त कस्ले आफ्नो गाउँ टोल, शहरको विकास गर्छ । त्यस्लाई आफ्नो मत दिएर जिताउनेछन् ।
पत्रकार भएको नाताले तपाईँलाई त थाहै होला पार्टीबाटै होस् या स्वतन्त्र रुपमा नै किन नहोस् अहिले आफ्नो गाउँ आफै बनाउँछौं भन्दै उम्मेदवारी दिनेमा युवाहरु नै बढि देखिए । टिकट कसैले पाए त कसैले पाएनन् त्यो भने फरक कुरा होला । तर उम्मेदवारी दिने युवाहरुको जमातले नै भन्छ कि अब पार्टीको मुख हेरेर हैन अब विकसका काम गर्नेलाई जनताले चुन्नेछन् । यस अर्थमा म आफ्नो जीत निश्चित नै देख्छु ।






