सिरहा । माओवादी केन्द्रबाट पालिका अध्यक्षमा छोराले टिकट नपाएपछि आमाले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सिरहाको औरही गाउँपालिका अध्यक्षका लागि माओवादी केन्द्रका नेता जीवछ यादव दावेदार थिए । उनले त्यसका लागि अन्तिम समयसम्म प्रयास गरे तर टिकट पाएनन् । उनको ठाउँमा माओवादी केन्द्रकै अर्का नेता सिद्धार्थ यादवले टिकट पाए । सिद्धार्थले यसअघि पनि सो गाउँपालिकाको अध्यक्षमा चुनाव जितेका थिए ।
लामो समयदेखि पार्टीमा लागे पनि छोराले टिकट नपाएपछि जीवछकी ६५ वर्षीय आमा नैनावत्ती यादवले सो गाउँपालिकाको वडा नम्बर ३ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिइएकी छन् । जीवछले टिकट नपाएपछि उनका समर्थक तथा कार्यकर्ताहरु आक्रोशित बनेका थिए । र, सोही क्रममा पार्टीका समर्थक तथा कार्यकर्ताहरूले जीवछ यादवकी श्रीमतीलाई वडा अध्यक्षमा उम्मेदवारी दिलाउनका लागि निर्वाचन अधिकृतको कार्यालयमा पुर्याएका थिए । तर उनकी श्रीमतीको नाम मतदाता नामावलीमा नभएपछि आमाले उम्मेदवारी दर्ता गराएकी छन् ।
नैनावत्तीलाई छोरा जीवछले भन्दा पनि स्थानीय नेता कार्यकर्ताहरूको आग्रहमा स्वतन्त्र उम्मेदवारी दिन लगाइएको हो । जीवछले बैशाख १६ गते आमालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए तर अब नैनावतीले उम्मेदवारी फिर्ता लिन मानिनन् । उनले उम्मेदवारी फिर्ता नलिने अडान लिँदै भनिन्, ‘बरु म मर्छु तर उम्मेदवारी फिर्ता लिन्न् ।’ जीवछ यादवले भने, ‘मैले आमालाई उम्मेदवारी फिर्ता लिनका लागि निकै आग्रह गरे तर उहाँले मान्नुभएन । आमाले तिमीलाई राजनीति गर्न आउँदैन, तिमीलाई सोझो ठानेर सबैले ठग्दा रहेछन्, राजनीतिक कस्तो हुँदो रहेछ अब म तिमीलाई सिकाउँछु भन्नुभयो ।’
नैनावती अहिले गाउँमा मत माग्नका लागि डुल्न थालेकी छन् । उनले यसअघि राजनीतिमा रुची राखेका थिइनन् । उनी गृहणी हुन् । लामो समयदेखि माओवादी आन्दोलनमा लागेका जीवछलाई पछिल्लो समयमा पनि माओवादी केन्द्रले टिकट नदिएपछि नैनावती आक्रोशित छिन् । उनी भन्छिन्, ‘मेरो छोराका लागि पार्टी बेइमान भएपछि म आफै राजनीतिमा आएको हुँ, मेरो छोराले जनतालाई सेवा गरेको छ भने मलाई भोट दिएर जिताउने छन् भन्ने कुरामा मलाई विश्वास छ ।’ यो समाचार रातोपाटीमा छ ।






