बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाका नेपाली कंग्रेस पुर्व सभापति एवं प्रदेश सदस्य भोदु चौधरीले पार्टी परित्याग गर्दै औपचारिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले पार्टीमा आफुले गरेको योगदानको कांगे्रसले कुनै मूल्यांकन नै नगरी आफ्नो अपमान गरेको भन्दै एमालेमा प्रवेश गरेका हुन् ।
सोमबार बढैयाताल गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यालयमा नेपाली कांग्रेसले पनि उम्मेद्धार दर्ता गराई रहंदा उनी भने सोही कार्यलयकै छेउमा स्थापना गरिएको एमालेको सम्पर्क कार्यलयमा औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन् । गठबन्धनले गर्दा मर्कामा परेका उनी आफुसंगै आफ्ना निकटका अन्य कांग्रेससंग असन्तुष्ट भएकाहरुलाई पनि एमालेमा प्रवेश गराएका हुन् ।
उनी संगै पार्टीे प्रवेश गर्नेमा कांग्रेसका नेता विरेन्द्र चौधरी, आशा चौधरी, किरण चौधरी लगाएतका ५ सयको संख्यामा रहेका छन् । कांग्रेसबाट एमालेमा प्रवेश गरेका उनीहरुलाई एमाले लुम्बिीनी प्रदेशका प्रदेश कमिटि सदस्य कविराम थारुले अविर र माला लगाएर स्वागत गरेका थिए । निर्वाचनको मुखैमा ठूलो जथ्थामा पार्टी प्रवेश गर्नुले कांग्रेसलाई जरैबाट हल्लाएको बताउँदै एमालेको जीत सुनिश्चित गर्नमा सहयोग पुग्ने बताए ।









