काठमाडौ । नेकपा नेपाल–दाहाल समूहको नेकपाले आह्वान गरेको आमहड्तालका कारण मुलुकभर प्रभाव परेको छ । आन्दोलनरत समुहका मुख्य नेता अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नै सडकमा उत्रिएका छन् ।
अरुलाई सडकमा यातायात संचालन गर्न नदिएर बन्द गरेका आयोजकका समुहका अध्यक्षहरु भने कोही गाडीमा त कोही स्कूटरमा आन्दोलन स्थल पुगेका छन् । आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो र पुल्चोक क्षेत्रमा पुगेका छन् ।
माधव नेपाल कोटेश्वरवाट अन्य क्षेत्रमा आन्दोलन अनुगमनका लागि स्कूटरमा निस्किएका छन् । पुल्चोक क्षेत्रमा दालमोठ, चिउरा र पानी साथ धर्नाका बसेका दाहालले सरकारले बलमिच्याई गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले आफुहरु सडकमा आएको बताए ।
ओली नेतृत्वको सरकार हटाउनुको बिकल्प नभएको भन्दै दाहालले फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुने दावी गरेका छन् । प्रचण्ड नेपाल समूहले विहिवार असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ ।
आजको बन्द सफल बनाउन सबै शीर्ष नेताहरु नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।






