काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस भोलि बिहीवार नेपाल आउँदैछन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उनी भोलि दिउँसो सवा १२ बजे नेपाल आउँने भएका छन् । तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नेछन् । यस्तै नेपालमा रहँदा उनले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालमा रहेका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नेछन् । महानिर्देशक तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
भ्रमणकै क्रममा उनले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्ने कार्यक्रम छ । महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी वैशाख १० गते नेपालबाट फर्कर्ने कार्यक्रम छन् ।






