काठमाण्डौ – सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी तालमेलको भागबन्डा टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधवार बसेको पाँच दलका शीर्ष नेताहरूको बैठकले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा प्रमुख र उपप्रमुख पदमा कुन पार्टीले उम्मेदवारी दिने भन्ने टुङ्गो लगाएको हो ।
सहमतिपत्रमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार कांग्रेसले तीन वटा महानगरपालिका र सात वटा उपमहानगरपालिका, माओबादीले एउटा महानगर र दुई वटा उपमहानगरपालिका, एकीकृत समाजवादीले एउटा महानगरपालिका र एउटा उपमहानगरपालिका तथा जसपाले पनि एउटा महानगरपालिका र एउटा उपमहानगरपालिकामा उम्मेदवारी दिनेछन् ।
सहमति अनुसार कांग्रेसले काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने छ । यस्तै माओबादीले भरतपुर, एकीकृत समाजबादीले पोखरा र जनता समाजबादी पार्टीले वीरगञ्जको मेयरमा उम्मेदवारी दिनेछन् । महानगरको उपमेयरमा कांग्रेसले वीरजञ्ज, भरतपुर र पोखरामा उम्मेदवारी दिनेछ भने माओबादीले ललितपुर, एकीकृत समाजबादीले काठमाण्डौ र जनता समाजबादी पार्टीले विराटनगरमा उम्मेदवारी दिनेछ ।
उपमहानगरपालिकातर्फ कांग्रेसले धरान, इटहरी, कलैया, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढीमा मेयर पदमा उम्मेदवारी दिनेछ । यस्तै जितपुर सिमरा, घोराही र हेटौँडामा उपमेयरमा उम्मेदवारी दिनेछ । माओबादी केन्द्रले जितपुर सिमरा र घोराही उपमहानगरपालिमा मेयर पदमा उम्मेदवारी दिनेछ भने धरान र धनगढीमा उपमेयरमा उम्मेदवारी दिनेछ ।
एकीकृत समाजबादीले हेटौँडा उपमहानगरपालिकामा मेयर र इटहरी, बुटबल र तुलसीपुरमा उपमेयरमा उम्मेदवारी दिनेछ । जसपाले जनकपुर उपमहानगरपालिकामा मेयर र कलैया र नेपालगञ्जमा उपमेयरमा उम्मेदवारी दिने सहमति भएको छ । यो समाचार उज्यालोमा छ ।







