ललितपुर । नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नो प्रभाव बढ्दै गएपछि पार्टी फुटाउने षड्यन्त्र भएको बताएका छन् । आज बिहीबार ललितपुरमा आयोजित पार्टीको माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताए । उनले तत्कालीन नेकपामा रहेका पूर्वएमालेका ८० प्रतिशत नेताहरूले माओवादी जनआन्दोलनको ऐतिहासिकता स्वीकार्न थालेपछि पार्टीमा विद्रोह सुरु भएको बताए ।
अध्यक्ष दाहालले भन्नुभयो, ‘हामीले नेकपा एमालेसँग एकता गरेका थियौँ । अब तत्काल भूमिगतमा जाने, जनयुद्ध गर्ने र विद्रोह गर्ने स्थिति छैन भनेर हामीले एमालेसँग एकता गरेका थियौँ । त्यो एकता कति बेला दुर्घटनामा पर्यो भने– जति बेला एमालेभित्रको ठूलो तप्काले माओवादी आन्दोलनको ऐतिहासिकता स्वीकार्न थाल्यो, माओबादी जनयु द्धकै कारण नेपालमा उत्पीडित, जाति, वर्ग, क्षेत्र,
समुदायले जागरण ल्याएको हो र सङ्घीय लोकतान्त्रिक गणतन्त्र माओवादीकै कारण आएको हो भन्ने कुरामा सहमत भएको देखियो र अध्यक्ष प्रचण्डको नेतृत्वमा केन्द्रीय समितिको दोस्रो बैठकमा सबै पूर्वएमालेको पनि अत्यधिक ठूलो सङ्ख्याले अबको नेता अध्यक्ष प्रचण्ड हो भन्ने ठाउँमा पुग्यो र त्यसपछि षड्यन्त्र सुरु भयो । आजकाल तपाईँहरूले सुन्नुभएको होला, एमालेका केही नेताहरू भन्ने गर्छन्, अझै केही समय रोकेको भए त प्रचण्डले सम्पूर्ण पार्टी खाइसकेको थियो नि भन्छन् ।’
अध्यक्ष प्रचण्डले अझै पनि नेकपा एमालेमा रहेका धेरैजसो नेताहरू समाजवादी क्रान्तिका लागि इमानदार कम्युनिस्ट रहेको र उनीहरूको नेतृत्व पनि आफूले गर्नुपर्ने बताए । उनले नेकपा एमालेको नेतृत्वले पार्टीका नेताहरूलाई प्रतिक्रान्तिकारी र प्रतिगमनका बन्दी बन्न बाध्य बनाएको आरोप पनि लगाए ।
अध्यक्ष दाहालले देशभित्र र बाहिर प्रतिगमनकारी तत्त्वले माओबादीको उपलब्धिलाई नष्ट गर्न खोजिरहेको पनि आरोप लगाए ।
उनले माओबादीका उपलब्धिलाई सुरक्षित गर्न सबै माओबादी एकत्रित भएर लड्नुपर्ने बेला आएको छ भने । अध्यक्ष दाहालले भने,‘प्रतिक्रियाबादीहरूले देशभित्रका र देशबाहिरका सबैले माओवादीलाई क्षतविक्षत पार्ने, माओबादीका मु द्दालाई सिध्याउने, यसलाई कमजोर पार्ने र पूरै माओबादी आन्दोलनले ल्याएका उपलब्धि र परिवर्तनलाई नै उल्ट्याउने षड्यन्त्र गरिरहेका छन्,
त्यो षड्यन्त्रलाई परास्त गर्नु माओबादी आन्दोलनका सहभागी सबैका निम्ति त जीवनमरणको प्रश्न छँदै छ । देश र जनताका निम्ति समावेशी लोकतन्त्रको, समानुपातिक प्रतिनिधित्व प्रणालीको सङ्घीयता, लोकतन्त्र, गणतन्त्रको धर्मनिरपेक्षता जस्ता कुराहरू माओबादी आन्दोलनले स्थापित गरेका मु द्दा हुन् । अरू कुनै पार्टी र विचारबाट यो भएको होइन । माओबादी कमजोर हुनेबित्तिकै कसरी हामीले प्राप्त गरेका उपलब्धिमाथि हमला हुँदोरहेछ भन्ने कुरा गएको वर्ष देखी नै हाल्यौँ । अझै पनि त्यो खतरा टरेको छैन ।
अहिले पनि माओबादी आन्दोलन र माओवादी जनयुद्धले स्थापित गरेका एजेन्डाहरूलाई, मूल्य–मान्यताहरूलाई प्रहार गर्ने, क्षतविक्षत पार्ने षड्यन्त्र रोकिएको छैन । अब एक पटक फेरि क्रान्ति प्रक्रियालाई वैज्ञानिक समाजवादतिरको यात्रालाई माओवादीहरूकै सक्रियतामा अघि बढाउने बलियो आधार निर्माण हुँदैछ ।’ अध्यक्ष दाहालले सबै माओवादीहरू एकताबद्ध भएर नै संविधानको रक्षा र प्रतिक्रियाबादीहरूलाई परास्त गर्न सकिने बताए । उज्यालोबाट






