काठमाण्डौ । स्थानिय चुनाव नजिकिंदै गर्दा सत्तारुढ गठबन्धनलाई भने उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरु अझैं अन्योल नै देखिन्छन् । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् ।
केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफलले अझैं मुर्त रुप लिन सकेको छैन । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने ? भन्नेबारे विवाद कयामै छ । तल्लो तहबाट उम्मेदवार सिफारिस भएर नआएपछि हिजो बसेको गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रदेश र जिल्लामा सहमति कायम गरेर केन्द्रमा उम्मेदवारको नाम पठाउने म्याद पर्सि ३० गतेसम्म थप गरिएको छ ।
माओबादीले २०७४ सालको चुनावमा जुन पार्टीले नेतृत्वमा जितेको छ, यस पटक पनि त्यही दलले नेतृत्व लिने र एमालेले जितेको पालिकामा भागबन्डा गर्ने प्रस्ताव गरेको छ । एकीकृत समाजवादीले २०७४ सालको चुनावमा एमालेले जितेको पालिकामध्ये आधा आफूले पाउनुपर्ने र आधा अरुले बाँडेर लिनुपर्ने प्रस्ताव गरेको छ । जसपा र राष्ट्रिय जनमोर्चाले सम्मानजनक रुपमा भागबन्डा गर्नुपर्ने अडान लिएका छन् ।
गठबन्धनका अरु दलले कांग्रेसलाई ६ मध्ये ३ वटा महानगरपालिकाको नेतृत्व लिन प्रस्ताव गरेका छन् । नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी र जनता समाजबादी पार्टीले कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानगरपालिकाको मेयर लिन तथा भरतपुर, पोखरा र वीरगञ्ज महानगर छाड्न प्रस्ताव गरेका छन् ।






