काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाल) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्र सुधार गर्न खोज्दा सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको आरोप लगाएका छन् । शनिबार काठमाडौं आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र जोगाउन खोज्ने राष्ट्रसेवकलाई सरकारले अस्वाभाविक ढंगले निलम्बन गरेको आरोप लगाएका हुन् ।
उनले गभर्नरमाथि छानबिन गर्नसमेत माओवादी केन्द्रको इसारामा समिति गठन गरिएको आरोप लगाए । सरकारले गभर्नर निलम्बन गर्नु गलत भएको टिप्पणी ओलीको छ । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका छन् ।
अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताउदै भने, ‘थुतुनाभरि रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो । धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’ अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै गरेकालाई सरकारले बलिको बोको बनाएको बताउँदै अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो । गभर्नर अधिकारीलाई निलम्बन गरेर सरकारले माओवादीले नियुक्त गरेका न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनाएको बनाएको छ ।’
अध्यक्ष ओलीले राजनीतिक दलसँग छलफल नगरी, सत्तापक्षीय दलसँग मात्रै परामर्श गरेर नेपालको इतिहासमा पहिलोपटक निर्वाचन आयोगले आचारसंहिता ल्याएको बताए । आयोगले आचारसंहिता नमान्नेलाई जुनसुकै होस् कारबाही गरिन्छ, भनेर थर्काएको समेत उनले आरोप लगाए । उनले जनताका अधिकार खोसेर आफन्तलाई पोस्नका लागि पाँच दलीय गठबन्धन बनेको टिप्पणी समेत गरेका छन् ।
जनताको अधिकार खोसेर नातेदारलाई पोस्न गठबन्धन बनेको उनले बताए । प्रधानमन्त्री शेरबहादुर देउवा, दाहाल र माधवकुमार नेपालले आफन्तलाई राज्यका विभिन्न पदमा नियुक्त गरिरहेको भन्दै आफन्त पोस्न अदालतमार्फत आफ्नो सरकारलाई विस्थापित गराएको उनले बताए । गैरसांसदलाई मन्त्री बनाउने, आफ्नै भाइलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने र राजदूतमा आफ्नो मान्छे सिफारिस गर्ने, भ्रष्टाचार गर्न पाइँदैन भनेर गभर्नरलाई निलम्बित गर्ने जस्ता कार्य गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।
उनले निष्पक्ष भएर काम गर्न निर्वाचन आयोगलाई ध्यानाकर्षण पनि गराए । कार्यक्रममा विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई उनले एमालेमा प्रवेश गराएका छन् । जसपाका पूर्वकेन्द्रीय सदस्य विष्णुजंग बस्नेतको नेतृत्वमा सयौं नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष ओलीसहित उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उनीहरूलाई पार्टीमा स्वागत गरेका छन् ।
गफाडी ओलीः माधव नेपाल
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्ना पूर्वसहकर्मी तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ‘गफाडी’को संज्ञा दिएका छन् । शनिबार काठमाडौं पार्टीको जिल्ला कमिटी काठमाण्डौले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली गफाडी रहेको बताए । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली गफ दिन माहिर रहेको टिप्पणी गरेका छन् ।
‘कमरेड, विश्वासका साथ अगाडि बढ्नुस् । हाम्रो पार्टीको भविष्य छ । गफाडीको कुनै काम छैन । गफाडीलाई गफ गर्न दिनुस् । अरूको अपमान गर्न दिनुस् । हामी काम गरेर देखाऔं,’ ओलीतर्फ संकेत गर्दै नेपालले भने । उनले एकीकृत समाजवादीलाई पार्टीलाई एउटा क्रान्तिकारी पार्टीको रूपमा अगाडि बढाउन आफूले चाहेको बताए । पार्टीले नेपाली समाजमा विचारमा तरंग पैदा गरेको दाबी नेपालको छ ।
व्यवहारमा पनि एउटा नयाँ उदाहरण प्रस्तुत गर्न चाहेको उनले बताए । इमानदारिता, निष्ठा, समर्पण, देश निर्माण र जनताको जीवनमा रूपान्तरणको संकल्प बोकेर नेपाल देशको गरिमालाई माथि उठाउँदै, नेपालीको स्वाभिमानलाई माथि उठाउँदै विदेशीसँग मित्रतापूर्ण सम्बन्ध राखेर अघि बढ्नुपर्ने उनले बताए । यस्तै, उनले टावर र गेट निर्माणमा पैसा खर्च गर्न बन्द गर्नुपर्ने बताए । टावर र गेटले खान र लाउन नदिने बताउँदै यस्ता काममा पैसा खर्च गर्न नहुने बताए ।
टावर र गेट बनाउँदा लागेको खर्च जोड्न आग्रह गर्दै उनले भने, ‘आवश्यकता नभएको टावर बनाउने चलनलाई बन्द गरिदिनुपर्छ । त्यसमा खर्च हुने करोडौं रुपैयाँले बरु हामीले २ सयवटा परिवारलाई बिनाब्याजको पैसा दिएर लगानी गर्न लगायौं भने कल्याण हुन्छ ।’ उनले अघिल्लो सरकारका पालामा पानीजहाजको चर्चा भएको भन्दै अहिले त्यो हिन्द महासागरमा डुबिसक्यो कि भन्दै व्यंग्य गरे । आफूहरू त्यस्ता हावादारी कुरामा लाग्न नचाहेको उनले बताए ।
अध्यक्ष नेपालले आफूहरू स्वच्छता र इमानदारिताको उदाहरण बन्न चाहेको बताए । ‘राम्रो समाज बनाउन, असल पालिका बनाउन व्यापक छलफल र बहसमा रमाउन चाहन्छौं । नमुना नगरपालिका बनाउने कसरी रु ती गाउँपालिका र नगरपालिकामा हुनुपर्ने न्यूनतम सुविधाका कुरा त्यो ठाउँमा विद्यमान छ कि छैन रु हाम्रो ध्यान त्यहाँ जान्छ’ उनले भने ।
यस्तै, सोही कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले ओली प्रधानमन्त्री भएका बेलामा देशलाई दक्षिणपन्थी अवसरवादतिर लगेको आरोप लगाए । ओलीकै कारण देशलाई दक्षिणपन्थी अवसरवादको आहालमा डुब्ने खतरा समेत पैदा भएको उनले बताए । ‘उनले अमेरिकाको सेवाको सेवा गर्न थाले, विदेशी गुप्तचरको प्रमुखसँग आधा रातमा साँठगाँठ गर्न थाले । के कुरा गरे, आज दुई करोड ९२ लाख नेपालीलाई केही पनि थाहा छैन । हाम्रो परराष्ट्र मन्त्रालयलाई केही पनि थाहा छैन, खै ‘मेमोरी’ ?
कुनै पनि देशका प्रधानमन्त्रीले अरू देशमा मान्छेसँग कुरा गर्छन् भने ‘मेमोरी’ राख्ने चलन हुन्छ । त्यसलाई ‘इन्स्टिच्युसनल मेमोरी’ भनिन्छ, त्यो छैन्’ खनालले भने । ओलीजस्ता गैरजिम्मेवार मान्छेको हातमा नेतृत्व पुगेको हुनाले देशले दुःख पाएको खनालले बताए । यस्तै खनालले ४२ महिनासम्म सरकारमा बसेर ओलीले केही नगरेको बताए । ‘नेकपा एमालेको नेतृत्व गुटको नायक खड्गप्रसाद शर्मा ओलीको सरकारले एउटा फुटेको कौडी पनि गरेन । कुनै पनि काम गर्न सकेन’ खनालले भने ।
खनालले एमाले अध्यक्ष ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिनअघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी १०औं टनको बनिरहेको दाबी गरेका छन् । उनले आफ्नो पार्टी १०औं टनको बन्दै गएको कुरा हेर्न जिल्ला–जिल्लामा जान पनि ओलीलाई चुनौती दिँदै भने, ‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई क्विन्टल हामीलाई चाहिँ ढक ।
म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपार्इंको पार्टी ढक हो कि तपाईंको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिं टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस् । अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, १०औं टनको पार्टी बन्दै छ । यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेड ।’
खनालले सत्तारूढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे । उनले निर्वाचनको घोषणापत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । समाजबादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नेगरी लाग्नुपर्ने उनले बताए । यो समाचार राजधानी दैनिकमा छ ।






