काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताउँदै आफ्ना कार्यकर्तालाई सक्रिय हुन ठाडो उर्दी दिएका छन् । राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् ।
उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए । ‘पटक पटकको आन्दोलन तथा झूटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ उनले भने, ‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन् ।’
सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनले आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुःखदायी भएको बताए । अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुसी छैनन्,’ उनले भने, ‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा छ ।’






