काठमाण्डौ । ललितपुर भैँसेपाटीकी अचला पोखरेलले पाटन अस्पतालद्वारा उपलब्ध गराउँदै आएको क्यान्सरको औषधि नियमित सेवन गरिरहनुभएको छ । जीवनभर सेवन गर्नुपर्ने मासिक छ लाख रुपियाँबराबरको औषधि उनले निःशुल्क प्राप्त गरिरहेका छन् । उनलाई डेढ वर्षअघि फोक्सोको क्यान्सर भएको थियो । सुरुमा खोकीको लक्षण देखिएपछि नजिकैको अस्पतालमा उपचार गराउँदा क्यान्सर पत्ता लागेको थियो ।
दुई महिनासम्म छ साइकल केमोथेरापी चढाएपछि उनले नियमित औषधि सेवन गर्दै आईरहेका छन् । शल्यक्रिया गर्न नमिल्ने भएपछि छ साइकल केमोथेरापी चढाएर उहाँले औषधि सेवन गर्न थालेका हुन् । “सुरुमा मासिक दुई लाख ८० हजार रुपियाँबराबरको औषधि सेवन गरेकी थिएँ,” उनले भने, “औषधि अत्यधिक महँगो भएकाले क्यान्सर रोगका बिरामीको पहुँच बाहिर रहेछ ।” साथीहरूले पाटन अस्पतालमा निःशुल्क औषधि पाइन्छ भन्दा अचलाले सुरुमा पत्याएनन् ।
क्यान्सरको औषधि निःशुल्क पाउने भएपछि उनले बडो राहतको अनुभव गरे । पाटन अस्पतालका क्यान्सर रोग विभाग प्रमुख डा. अरुण शाहीले पाटन अस्पतालमा मासिक १० लाख रुपियाँसम्मको औषधि सेवन गर्ने बिरामी पनि रहेको बताए । अत्यन्त महँगो रोगका रूपमा क्यान्सरलाई लिइन्छ । नेपालबाहेक भारत, सिङ्गापुर, थाइल्यान्डलगायतका देशमा गएर उपचार गराउनुपरेमा एक करोड रुपियाँभन्दा बढी खर्च लाग्छ ।
पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले क्यान्सरका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । पेटको क्यान्सर, रक्त क्यान्सर, मिर्गौला क्यान्सर र फोक्सोको क्यान्सर लागेका बिरामीले निःशुल्क रूपमा औषधि सेवन गरिरहेका छन् । पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. शाहीले नेपालमा दुई हजार क्यान्सर बिरामीले निःशुल्क औषधि सेवन गरिरहेको बताउँदै उनीहरूले मासिक १५ हजारदेखि १० लाख रुपियाँसम्मका औषधि सेवन गरिरहेको जानकारी दिए ।
उनले क्यान्सरका रोगीले लाखौँ रुपियाँबराबरका औषधि निःशुल्क पाउँछन् भन्ने सूचना सबै क्यान्सरका बिरामीले थाहा नपाएको बताउँदै शल्यक्रियापछि नियमित औषधि सेवन गर्नैपर्ने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले लेखेका छन् ।






