काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमालेको कारणले देश २५ वर्ष पछि परेको आरोप लगाएका छन् । मंगलबार शंकरदेव क्याम्पसद्वारा आयोजित आर्थिक सबलीकरण राजनैतिक शुद्धीकरण विषयक विचार गोष्ठीमा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन ।
केपी ओलीहरूको कारणले देशको विकास २५ वर्ष पछि पर्योू उनले भने । अघिल्लो निर्वाचनमा जनताले मत दिएर जिताए पनि केपी ओलीले राजनीतिक ब्यवस्थापन गर्न नसक्दा अवसर हुँदाहुँदै पनि देश विकास हुन नसकेको आरोप लगाए ।
अरुण तेस्रो परियोजना निर्माणको प्रसङ्ग जोड्दै उनले भने ‘५१ सालमा एमाले ले अरुण तेस्रो परियोजना रोक्यो, त्यो परियोजना नरोकिएको भए ५६ मा सम्पन्न हुन्थ्यो, आज हामीले भारतबाट बिजुली किनेर उज्यालो प्राप्त गर्ने स्थिति रहँदैन थियौं । केपी ओलीजीहरुको कारणले नेपालको विकास २५ वर्ष पछाडि पर्यो ।’
उनले आगामी निर्वाचनमा काँग्रेसले राजनीतिक शुद्धीकरण र उत्पादनको नीति र योजनासहित जनतामा जानुपर्ने पनि बताएका छन् । देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेको र अबको बाटो आर्थिक विकास र गुणस्तर विकासको हुनुपर्ने र त्यसको नेतृत्व पनि नेपाली काँग्रेसले नै गर्नुपर्ने उनले बताए ।
राज्यले दिने हरेक क्षेत्रको सेवा सुविधामा गुणस्तर वृद्धि गर्नुपर्ने उनले बताए ।
आर्थिक विकासका लागि उत्पादन पहिलो सर्त भएको बताउँदै काँग्रेसले आफ्नो सम्पूर्ण उर्जा उत्पादनमा लगाउनुपर्ने उनको जोड थियो । उत्पादनको बाटो छनोट गरेर कृषि र भान्सामा प्रयोग हुने दैनिक उपभोग्य वस्तुको उत्पादनलाई पहिलो प्रथामिकता दिनुपर्ने उनले बताए ।






