काठमाण्डौ । अर्थ मन्त्री जनार्दन शर्माले आज (मङ्गलबार) देखि काठमाण्डौ उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताएका छन् । आज काठमाण्डौको चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरू सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाण्डौ समुद्रसँग जोडिएको बताएका हुन् ।
मन्त्री शर्माले भने, ‘व्यापार सहजीकरणमा यो बन्दरगाहले महत्त्वपूर्ण योगदान पुर्याउने छ । लागत र समयका दृष्टिकोणले हामी थप उपलब्धि लिनेछौँ । लागत पनि कम हुने छ । बन्दरगाह उद्घाटन गर्दै गर्दा एउटा प्रतिबद्धता जनाउनुपर्छ । कोरोनाले एउटा शिक्षा दिएको छ । त्यसपछि अहिले रुस र युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ ।
हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । त्यस कारण यो सुक्खा बन्दरगाह आयातको केन्द्रविन्दु मात्रै नभएर निर्यातको एउटा महत्त्वपूर्ण केन्द्र बन्नु पर्दछ । यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मात्रै सार्थक हुनेछ ।’ कार्यक्रममा नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताए ।
उनले बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पार्किङ क्षेत्र रहेको जानकारी दिए । सुक्खा बन्दरगाह झन्डै एक अर्ब ५४ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको गजुरेलको भनाइ छ । कार्यकारी निर्देशक गजुरेलले सुक्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । यो समाचार उज्यालोबाट ।






