काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके उपचारमा सजिलो हुने बताएका छन् । आज बुधबार नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके उपचारमा सजिलो हुने बताएका हुन् ।
पत्रकारहरूको स्वास्थ्य उपचारका लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासङ्घबीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको मन्त्री खतिवडाको भनाइ छ । मन्त्री खतिवडाले श्रमजीवी पत्रकारहरूका लागि सात लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भए पनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए ।
उनले पत्रकारका हितका लागि उचित प्रस्ताव लिएर मन्त्रालयमा आउन पनि महासङ्घलाई आग्रह गरेका छन् । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य उपचारका लागि छुट्टै अस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकार सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताए ।






