काठमाण्डौ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’आफ्नो निर्वाचन क्षेत्रमा क्रियाशिल हुन थालेका छन् । केही दिन अगाडि चितवन पुगेर फर्किएका प्रचण्ड पुनः बुधबार शिलान्यास र उद्घाटन कार्यक्रममा सहभागी हुन गएका हुन् ।
उनले नारायणी तटबन्धको शिलान्यास, पुर्वी चितवनमा विद्युत सव स्टेसन र महानगरको कभर्ड हल उद्घाटन गर्ने प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । मल्लले भने,‘दिनभर अध्यक्ष कमरेड प्रचण्ड चितवनका विभिन्न कार्यक्रममा सहभागी बन्नुहुनेछ ।’
यस अगाडि प्रचण्डले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगरपालिकाको प्रशासनिक भवन सिलान्यास गरेर फर्किएका थिए । प्रचण्डले चितवनबाटै निर्वाचन जितेका हुन् भने भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् ।
यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओबादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र रेणुलाई दोहोर्याउने जनाउँदै आएको छ । गठबन्धनको विषय उठेपछि जिल्लास्तरमा कांग्रेसले भने भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने भन्दै कांग्रेस नेतृत्वको आलोचना भइरहेको छ ।
प्रचण्ड भने रेणुलाई गठबन्धनबाटै महानगर वा संघीय निर्वाचनमा चितवनबाट उठाउने तयारी गरेका छन् । मंगलबार मात्र सत्तारुढ दल कांग्रेसले स्थानीय निर्वाचनमा आवश्यकताका आधारमा गठबन्धन दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
चितवनलाई कांग्रेस नछाड्ने र केन्द्रको निर्देशन नमान्ने चर्चा जिल्ला तहमा भइरहेको र केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले विषय प्रवेश गराएपछि सभापति शेरबहादुर देउवाले गठबन्धनको विरुद्धमा जथाभावी नबोल्न चेतावनी दिएका थिए । अन्नपुर्णपोष्ट






