भोजपुर । परम्परागत रूपमा गरिँदै आएको काठको ठेकी बनाउने चँदरा पेसा संकटमा पर्न थालेको छ । भोजपुरमा विगतका वर्षमा धेरैले यो पेसा गर्दै आएको भए पनि अहिले आएर लोप हुने अवस्थामा पुगेको हो । संरक्षणको अभाव तथा पुस्तान्तरण नहँुदा पेसा संकटमा पर्दै गएको यस क्षेत्रमा आबद्ध मानिसले बताउने गरेका छन् ।
धेरै मेहनतका साथ खोला खोल्सीको चिसोमा बसेर काम गर्दा पनि राम्रो आर्थिक उपार्जन नहुने भएपछि मानिसले यो पेसा छाड्दै गएको ५० वर्ष बढी समयबाट चँदरा पेसा गर्दै आएका टेम्केमैयुङ गाउँपालिका–८ गोगनेका रत्नबहादुर विश्वकर्माले बताए । विश्वकर्माले भने, ‘यो हाम्रो पुख्र्यौली पेसा संकटमा पर्न थालेको छ ।
मेहनत धेरै गर्नुपर्छ । मेहनतअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले चासो दिँदैनन् । खोलाखोल्सीमा चिसोमा बस्नुपर्ने हुँदा स्वास्थ्य समस्याको जोखिम हुन्छ । यसको संरक्षणमा सरकारले ध्यान दिए हुने थियो ।’ काठको सामग्री बनाउन दार, पँयले, लोडसल्ला, मौवा, कटहरलगायत रूखको काठ उपयोगी हुने विश्वकर्माले बताए ।
तर, पछिल्लो समय त्यस्ताको काठसमेत अभाव हुँदै गएको उनले बताए । ‘काममा त दुःख छँदै छ । अझ काठको पनि अभाव छ । गाउँले आफंैले काठ खोजेर ल्याए भने हामी बनाइदिन्छौं । हामीले ज्याला लिने हो’ विश्वकर्माले भने, ‘हामीले एक पाथी जाने ठेकी बनाएको २ सय ५० देखि ३ सय रुपैयाँसम्म ज्याला लिने गरेका छौं । दुई जनाले दिनभर काम गरेको १ हजार ५ सयसम्म हुन्छ ।’
आफूले पाउँदै आएको ज्याला समय सुहाउँदो नभएको विश्वकर्माको भनाइ छ । मेहनतको आधारमा प्रतिफल नहुने भएकाले नयाँ पुस्ताले चासो नदिँदा पेसा लोप हुने अवस्थामा पुगेको उनले बताए । विश्वकर्माले भने, ‘यो काम गरेर हामीले जीवन गुजारा गर्न सकिएको छैन । हिउँदको समयमा खोलामा पानी कम हुने भएकाले काम निरन्तर काम हँुदैन ।
वर्षात्को समयमा मात्र सञ्चालन हुन्छ । काम गर्न झन्झट हुने भएकाले धेरैले यो पेसा नै गर्न छाडे । हामी दुई जना मिलेर काम गरिरहेका छौं । धेरैतिर बोलाएका हुन्छन् । समय दिन नै गाह्रो हुन्छ । नयाँ पुस्ताले चासो दिँदैनन् । पेसा जोगाउन नै समस्या छ ।’ खोलाबाट भिरालो ठाउँमा पानी ल्याएर डुँढबाट पंखामा खसाई काठलाई घुमाएर फलामको सानो धारिलो हतियार (बाँक) को सहायताले काठलाई कोपेर विभिन्न आकारका सामग्री बनाउने गरिन्छ ।
चँदराले कलात्मक रूपमा काठबाट ठेकी, हर्पे, तोंबाको भाडो, गम्बुलगायत विभिन्न सामग्री बनाउँदै आएका छन् । हालसम्म परम्परागत शैलीमा हुँदै आएकाले यसलाई आधुनिक उपकरण प्रयोग गरेर सञ्चालन ल्याउनसके काम गर्न सहज हुने चँदराको काम गर्दै आएका अर्का स्थानीय जंगबहादुर विकले बताए ।
विकले भने, ‘हामीले बलको भरमा परम्पगत रूपमा काम गरिरहेका छौं । बाउबाजेले जसरी गरे हामीले पनि त्यही विधिअनुसारको काम गर्दै आएका छौं । आधुनिक उपकरण खरिद गर्न स्थानीय सरकार तथा सरोकारवाला पक्षबाट सहयोग गरे हुने थियो । तर, यो पेसाको संरक्षणमा खास कसैको सहयोग छैन ।’
पेसा जोगाउन नयाँ पुस्तालाई आर्कषित गर्नुपर्ने विकको भनाइ छ ।
तालिमको व्यवस्था गरेर सीपलाई सबैमा विस्तार गर्नुपर्ने विकले भने, ‘यो सीपलाई विस्तार गर्न आवश्यक छ । विस्तार गर्न सकिएन भने यो काम गर्ने मानिसहरू पाउन मुस्किल छ । राज्यको तर्फबाट जीवन गुजरा गर्न सक्नेसम्मको वातावरण निर्माण भयो भने पेसालाई बचाइराख्न सकिन्थ्यो जस्तो लाग्छ । अहिले पनि हामीले काम गर्न आवश्यक सामग्री जुटाउन नै समस्या छ ।’
काष्ठ पैदावरबाट पेसा सञ्चालन हुने भएकाले यसको संरक्षण तथा विकासमा अन्य निकायसँग सहकार्य गरेर पेसालाई जीवन्त राख्न पहल गर्ने डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले बताए । प्रमुख घिमिरेले भने, ‘मैले भोजपुरको चोलन्तीमा पुगेर काम गरिरहेकै ठाउँबाट नै उनीहरूको समस्या सुने ।
उपयुक्त काठको अभाव रहेको जानकारी पाएको छु । वन कार्यालयले त्यस्ता काठको संरक्षण तथा थप विस्तारमा सहयोग गर्ने योजना बनाएको छ । यस्ता परम्परागत पेसाको संरक्षणमा सबैले ध्यान दिनुपर्ने ठानेको छु ।’ राजधानी दैनिकबाट






