काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले चुनावमा अन्य दलसँग गठबन्धन गर्न नहुने बताएका छन् । उनले पार्टीको बनेपा नगरसमितिद्वारा आज बुधवार आयोजित वृहत् सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै आफू चुनावमा गठबन्धन गर्न नहुने मान्यता राख्ने भएकाले केन्द्रीय समितिमा समेत यस्तो धारणा राख्ने बताएका हुन् ।
‘पार्टीलाई चुनावमा तालमेल नगर्ने मेरो सिद्धान्तमा ल्याउन प्रयास गर्छु, नसके पार्टीको निर्णय मान्छु’, पूर्वमन्त्रीसमेत रहनुभएका थापाले भन्नुभयो । चुनावमा अन्य दलसँग गठबन्धनबारे केन्द्रीय बैठकमा गम्भीर छलफल हुने र पार्टीकै निर्णयअनुसार अघि बढ्ने उनले दोहोर्याए । पार्टीभित्र उम्मेदवार छान्दा मन परेन भन्न पाइने तर पार्टीले छानेको उम्मेदवार सबैको सर्वमान्य हुने महामन्त्री थापाले दाबी गरे ।
उले भने, ‘मतदाताले पार्टी बदल्न पाउँछ तर एउटा पार्टीको भनेर अर्को पार्टीमा मत हाल्नु कदापि हुँदैन, पाप लाग्छ ।’ चुनावमा कांग्रेस एक्लैले जितेर देखाउनुपर्ने उनको तर्क थियो । महामन्त्री थापाले आउँदो पाँच वर्ष कांग्रेसलाई मत दिन जनतालाई अनुरोध गर्न नेता कार्यकर्तालाई आग्रह गरे । आफ्नो पार्टीले आउँदो पाँच वर्षका लागि बहुमत ल्याएर व्यवस्था ठिक ढङ्गले सञ्चालन गरी युवालाई कतार र मलेसिया जानबाट रोकेर ‘जनशक्ति बेच्ने’ हैन सामान बेच्ने देश बनाइने उनले ठोकुवा गरे ।






