कास्की । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरू मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन् । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका प्रतिक्रियाबादीहरू एक भएको भन्दै उनीहरूविरुद्ध प्रतिबाद गरेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
पार्टी निकट मानव अधिकारबादीहरूको सङ्गठन मानव अधिकार एलाइन्सको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले नेतृत्वको सरकारले राम्रो काम गर्दागर्दै प्रतिक्रियाबादीहरू मिलेर ढालिदिएको जिकिर गरे । अध्यक्ष ओलीले एक हुल स्यालको प्रसङ्ग निकाल्दै उदाहरण दिएर भने, ‘स्यालको यस्तो धर्म हुन्छ, एउटा स्याल कराएको सुनेपछि सबैले ठाडो घाँटी लगाएर ‘हुहु’ गर्नुपर्छ नत्र टाउको फुटेर मर्छ । त्यस कारण दुनियाँभरिका प्रतिक्रियाबादीहरू हाम्राविरुद्ध ठाडो घाँटी लगाएर हुहु गरे । त्यसको वैचारिक र व्यावहारिक ढङ्गले जवाफ दिनुपर्छ ।’
अध्यक्ष ओलीले नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधव नेपालले एमालेबाट फुटेर नाम एकीकृत राखेको भन्दै कटाक्ष समेत गरे । अध्यक्ष ओलीले अरूले एमालेको उचाई प्राप्त गर्न पनि नसक्ने तर ईर्ष्या भने गरिरहने चलन नै भएको बताए । अध्यक्ष ओलीले अबको निर्वाचनमा जनताले नेकपा एमालेलाई नै अत्यधिक मतले विजय गराएर देशकै ठूलो र श क्ति श ाली पार्टी बनाउनेमा विश्वास समेत व्यक्त गरे ।






