काठमाण्डौ । सत्ता साझेदार नेकपा (एकीकृत समाजबादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह चुनावमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरे । रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजकनदीमा प्रवेश गर्नेहरूलाई आज सोमबार काठमाण्डौमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह चुनावमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताए ।
पार्टीले आउँदो चुनावमा केन्द्रित भएर टोल–टोलमा सङ्गठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए । ‘हामी आउँदो चुनावको तयारीलाई केन्द्रविन्दुमा राखेर वडा, टोल–टोलमा पनि पार्टीको कमिटी विस्तार गर्दै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’ अध्यक्ष नेपालले भने ।
यसैबीच नेकपा (एकीकृत समाजबादी) को पोलिटब्युरोको पहिलो बैठक आज नै काठमाण्डौमा रहेको एक ब्याङ्क्वेटमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आउँदो कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उनले बताए । प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकताबद्ध बनाएर आसन्न स्थानीय तहको चुनावमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।






