ताप्लेजुङ । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुले बताए ।
प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्नेछन् । त्यसपछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । नापअनुसारको दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताए ।
ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराउन लागेको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताए । ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि दन्त उपहार उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ ।






