कास्की । पोखरा विमानस्थलबाट हुने हवाई सेवा देशका सात वटा ठूला सहरसम्म विस्तार भएको छ । निजी क्षेत्रको बुद्ध एअरले हवाई सञ्जालमार्फत पोखरालाई सात वटा ठूला सहरमा जोडेको हो । बुद्धले सातौँ सहरको रूपमा हिजो शनिवार पोखरा–जनकपुर सिधा हवाई उडान सुरु गरेपछि मधेस प्रदेशसँगको पहुँच सहज भएको छ ।
बुद्ध एअरको पोखराका स्टेशन म्यानेजर गौतम बरालले पोखरा–जनकपुर हप्तामा तीन दिन ९शनिवार, सोमवार र बुधवार० उडान गर्ने जानकारी दिनुभयो । यात्रुको सङ्ख्या बढ्दै गएमा दैनिक उडान गर्ने बुद्धको योजना रहेको पनि उहाँले बताउनुभयो । बुद्धले १८ सिट क्षमताको जहाजबाट उडान सुरु गरेको छ ।
बुद्धको पोखरा–जनकपुरको पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली जनकपुर गएको थियो । पोखरा–जनकपुरको उडानमा प्रतियात्रु सबैभन्दा बढी नौ हजार तीन सय ६० र सबैभन्दा कम चार हजार एक सय रुपैयाँ भाडा तोकिएको छ ।
पोखरा–जनकपुर ५० मिनेटको हवाई यात्रा हुने बरालले बताउनुभयो । बुद्धले पोखराबाट काठमाण्डौसहित ठूला सहरसम्म सिधा हवाई उडान सञ्जाल विस्तार गरेसँगै आन्तरिक पर्यटकको पोखरा आउजाउ बढ्ने पनि बताइएको छ ।






