काठमाण्डौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा आफुबाट भएको गल्तीलाई अब उप्रान्त नदोहोर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले विगतका त्रुटि, कमी–कमजोरीहरूलाई सच्याएर पार्टीलाई सशक्त रूपमा अडाडि बढाउने बताउँदै यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।
राप्रपा नेपाल निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविसं) नेपालको घोषणा सभालाई हिजो बिहीवार सम्बोधन गर्दै अध्यक्ष थापाले २०७३ सालपछि पार्टीलाई ठूलो बनाउने नाममा धेरै गल्तीहरू भएकाले अब त्यस्ता गल्तीबाट पाठ सिकेर पुनर्जागृत राप्रपा नेपाललाई सुदृढ बनाएर लैजाने बताए ।
संवर्द्धनवाद, सुशासन र समृद्धिको मुख्य एजेन्डा लिएर पार्टी अगाडि जाने बताउँदै उहाँले परिवर्तनपछि देश त्रुटिपूर्ण मार्गचित्रबाट जबरजस्ती अगाडी बढाइएकोले सङ्कटको दलदलमा भासिएको बताए । देशको शिक्षा क्षेत्र गरिब जनताको छोराछोरीको पहुँचमा नभएको, व्यावसायिक र आत्मनिर्भर नभएको चर्चा गर्दै थापाले राप्रविसं नेपालका विद्यार्थीहरूलाई शिक्षा क्षेत्रमा भएको विकृतिको अन्त्यको निमित्त सक्रिय भूमिका खेल्न आग्रह गरे ।
कार्यक्रममा कमल बम रजवारको अध्यक्षतामा ७६ सदस्यीय राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन नेपाल गठनको घोषणा गरिएको छ । कमिटीको उपाध्यक्षमा चेतराज सिंह, राजु गैरे, लक्ष्मण पौडेल, दीपक जोशी रहेका छन् भने महासचिवमा सचिन अधिकारी र दिपेश शाह रहेका छन् ।






