काठमाण्डौ । लामो समयदेखि कहिले कुण्डलिनी, कहिले पोखरा त कहिले देशका विभिन्न जिल्लामा आफन्तकहाँ बस्दै आएका पूर्वयुवराज पारस शाह अहिले आमाबुबासँगै निर्मल निवासमा एक्लै बसेका छन् । झन्डै पाँच महिनाअघिदेखि निर्मल निबास बस्न थालेका पूर्वयुवराज पारस परिवारका सबै जना बिदेसिएपछि अहिले एक्लै परेका हुन् ।
परिवारका तीन सन्तानमध्ये दुई छोरी पूर्णिका र किर्तिका उच्चशिक्षा अध्ययनको क्रममा करिब तीन वर्षदेखि थाइल्यान्डमै बसिरहेका छन् । छोरा हृदयेन्द्र उच्चशिक्षा अध्ययनको सिलसिलामा अमेरिकाको क्यालिफोर्निया पुगेका छन् । दुई महिनाअघि पूर्वयुवराज्ञी एवं आमा हिमानीसँग अमेरिका पुगेका हृदयेन्द्र केही वर्ष अमेरिकामै बस्ने कार्यक्रम तय भएको छ ।
केही महिनाअघि अमेरिकामा बसोबास गरेका नेपालीका साथै हिमानी ट्रस्टले आयोजना गरेको विभिन्न कार्यक्रममा सहभागिता जनाएकी हिमानी दुई छोरीलाई भेट्न थाइल्याण्ड फर्किएकी छन् । उनी यो महिना थाइल्यान्डमै बसेर चैतमा नेपाल फर्कने कार्यक्रम रहेको निर्मल निवासले जनाएको छ ।
साथीभाइसँग भेटघाट गर्न मात्रै कहिलेकाहीं बाहिर निस्कने गरेका पारसले बाँकी समय निर्मल निवासमै बिताउने गरेको जानकारी दिँदै निर्मल निवास स्रोतले भन्यो– ‘परिवारका सबै सन्तान बिदेसिएपछि पारस सरकार दिनभर बुबा पूर्वराजा ज्ञानेन्द्र र आमा पूर्वरानी कोमलको साथमा बस्ने गर्नुभएको छ । कहिलेकाहीं हजुरआमा रत्नलाई भेट्न नारायणहिटीस्थित रत्न मञ्जिल पुग्नुहुन्छ ।’






