काठमाण्डौ । सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यो जानकारी गराएका छन् । आज सोमबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा झन्डै नौ अर्ब रुपैयाँमात्रै विदेशी सहयोग आएको स्मरण गराए ।
मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालयबीचमा काम गर्ने सबालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरिएको दाबी गरे । दातृ संस्थाहरूले देशका लागि केही दिँदैछन् भने हामीले झन्झटिला प्रक्रियालाई हटाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री रेग्मीले भने,‘म आउनुभन्दा पहिला वैदेशिक सहयोग झन्डै नौ अर्ब रुपैयाँ भित्रिएको थियो । मैले कार्यभार सम्हालेको दिनदेखि चार महिनामा २९ अर्ब रुपैयाँ जति वैदेशिक सहयोग भित्रिएको अवस्था छ । अहिले म मन्त्री भएर आएपछि सकेसम्म धेरैभन्दा धेरै छिटो काम गरिरहका छौँ ।
तर दुई वटा निकायमा उस्तै–उस्तै डुब्लिकेशन भएको हुनाले अलि अप्ठ्यारो अवस्था छ । त्यस कारणले एकद्वार प्रणालीअनुसार काम हुनुपर्छ । हाम्रो देशमा आउने, हाम्रै गाउँघरमा जाने पैसा छ भने झन्झटिलो प्रक्रियालाई समाप्त गरेर छिटो छरितो बनाउनुपर्छ ।’
बैठकमा बोल्दै नेकपा (माओबादी केन्द्र) का सांसद दीनानाथ शर्माले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । गैरसरकारी संस्थाहरूमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उहाँले नियमन गर्नुपर्ने बताउनुभयो ।
सांंसद शर्माले नेपालमा गैरसरकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबीसमेत गरे । त्यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाज कल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए ।
उनले पछिल्लो चार महिनामा २९ अर्ब रुपैयाँ वैदेशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गरेका थिए । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरूको यकिन तथ्याङ्क नभएको बताए ।






