काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । प्रधानमन्त्री देउवा केही बेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोटतर्फ लागेका हुन् ।’प्रधानमन्त्री देउवा अहिले एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोटतर्फ लाग्नुभएको छ’ काँग्रेस महामन्त्री गगन थापाले भने । प्रधानमन्त्री देउवासँगै सञ्चारमन्त्री कार्की, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री थापा पनि बालकोट लागेका छन् ।
योपनि नेकपा एमालेसँग वार्ताका लागि नेपाली कांग्रेसका नेताहरु बालकोट पुगेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच वार्ता अघि दोस्रो तहका नेताहरु वार्ताका लागि बालकोट पुगेका हुन् । कांग्रेस उपसभापति पूर्णवहादुर खड्का,सन्चारमन्त्री ज्ञानेन्द्रवहादुर कार्की लगायतका नेता बालकोट पुगेका छन् । एमाले उपाध्यक्ष बिष्णु पौडेल,महासचिव शंकर पोखरेल,उपमहासचिव विष्णु रिमाल लगायत पनि बालकोटमै छन् ।
माओबादीको लिखित निर्णय आउन ढिला भएपछि देउवाले आजै बालकोट पुगेर ओलीलाई भेट्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच निर्णायक वार्ताअघि एमाले र कांग्रेसका दोस्रो तहका नेताहरुबीच बालकोटमै छलफल सुरु भएको हो । बिहीबार र शुक्रबार लगातार लामो छलफल गरेका दुई पार्टीबीचको आजको वार्तालाई निर्णायक र अर्थपूर्ण मानिएको छ ।
माओबादी केन्द्रले एमसीसी पारित गर्न सघाउने र गठबन्धन जोगाउने मध्यमार्गी विकल्प लगे पनि प्रधानमन्त्री विश्वस्त हुन नसकेको र माओबादीलाई साथमा लिएर हिड्दा अन्तर्राष्ट्रिय समुदायसमेत कांग्रेसप्रति सकारात्मक नहुने देखिएपछि देउवाले एमालेसँगै सहमतिमा जोड दिएको स्रोतले जनाएको छ । यद्यपी एमालेका नेताहरु गठबन्धन भत्किने अवस्थामा प्रचण्ड माधवले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय देउवालाई बुझाउने आँकलन गरिरहेका छन् ।
त्यसैले अहिलेको वार्ता एमालेको भन्दा पनि कांग्रेसको रुचीमा भइरहेको उनीहरुको भनाइ छ । आजै कांग्रेस र एमालेबीच कुनै लिखित सहमति हुनेबारेमा दुवै पक्षका नेताले प्रष्ट बताएका छैनन् । तर शुक्रवार राति नै एकखालको समझदारी भएको र त्यसको फाइनल टच आज हुने नेताहरुको भनाइ छ । वार्तामा सहभागी भइरहेका एक नेताले भने, स्थायी ठाउँ ठेगाना नभएका र उत्तरदायित्व पनि बोक्नु नपर्ने प्रचण्ड–माधवलाई लिएर हिँड्दा कुनै पनि बेला दुर्घटनामा पर्ने देखिएपछि सभापतिज्यूले एमालेसँगै सहकार्य गर्न खोजेको थियो ।
भोलि जस अपजसको भागिदार पनि यीनै ठूला दलले बोक्दा जनमत एकै ठाउँमा हुन्छ भन्ने लागेको होला । अमेरिकीहरुले पनि एमाले र कांग्रेस मिल्दा नेपालको ७० प्रतिशत जनमतको प्रतिनिधित्व हुने भएकाले गठबन्धन भत्काएर एमालेसँग एकल प्रतिस्पर्धामा जान देउवालाई सुझाव दिएको नेताहरु बताउँछन् । एमालेले गठबन्धन भत्काएर अघि बढे सरकारमा सहभागी नभई चुनाव गराउन सघाउने आश्वासन देउवालाई दिएको छ ।






