काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (एमाले) अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन् । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसहित प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् । काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापासहित प्रधानमन्त्री देउवा बालकोट पुगेको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

शुक्रबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि प्रधानमन्त्री देउवा प्रतिपक्षी दल र गठबन्धनका नेतासँग छलफलमा व्यस्त छन् । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना संसदबाट पास गर्ने विषयमा प्रधानमन्त्रीले छलफल केन्द्रित गरेका छन् । एमसीसी पास गरेर गठबन्धन जोगाउने प्रयासमा शुक्रबार दिनभर प्रधानमन्त्री छलफलमा सहभागी भएका थिए ।
शुक्रबार प्रधानमन्त्री देउवासँग नेकपा (माअोबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपालले पनि छलफल गरेका छन् । दिउँसो बालुवाटारमा प्रचण्ड र नेपालले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । प्रचण्ड र नेपालसँगको छलफल सकिएपछि देउवा छलफलका लागि प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गर्न बालकोट पुगेका हुन् ।






