काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सम्पन्न भएको छ ।अमेरिकी सहयोग परियोजना च्यालेन्ज (एमसीसी) बारे सत्तारुढ दलका शीर्ष नेताहरुबीच छलफल सकेर अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको जानकारी दिए । तर उनीहरुबीच के छलफल भयो त्यो बाहिर आएको छैन । यसअघि नेकपा (एकीकृत समाजबादी) को संसदीय दलको कार्यालय सिंहदरबारमा नेकपा माओबादीका अध्यक्ष प्रचण्ड,
नेताद्वय देव गुरुङ र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच एमसीसीका विषयमा छलफल भएको थियो । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा एमसीसीबारे छलफल हुने कार्यसूची छ ।






