काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् । अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरे ।
आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले देश र जनताको हितमा काम गरेकाले जनताको अपार साथ रहेको पनि बताए । अध्यक्ष ओलीले आफूहरुले केही जमिन छाड्दा सर्वोच्च अदालतका चार न्यायाधीशले पछार्न खोजेको आरोप समेत लगाए ।
उनले भने, ‘यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमा मात्रै उसलाई हराउन सकिन्छ, त्यो हो जमिनबाट माथि उठायो भने । तर जमिन छुन पायो कि ऊ बलियो हुन्छ । अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतबाट चार जना न्यायाधीशले नै पछार्दो रहेछ एमालेजस्तो पार्टीलाई ।
तर आखिर उचालेको उचाल्यैं कहाँ हुन्छ रु हामी जमिनमा छोइहाल्छौं, टेकी हाल्छौं । जनतासँग एकाकार भइहाल्छौं ।’ उनले एमाले फेरि आउने दाबी समेत गरे । उनले भने, ‘नेकपा एमाले फेरि आउँछ । जनताबाट जन्मिएको, जनताको बीचमा हुर्किएको, जनताका लागि बनेको यो पार्टी, देशका लागि बनेको यो पार्टी, जनताको सुःख र समृद्धिका लागि बनेको पार्टी ।
यसले जनताको साथ प्राप्त गर्छ ।’ अध्यक्ष ओलीले आफ्नो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देश र जनताको हितमा समर्पित गर्ने प्रतिवद्धता पनि दोहोर्याए ।
त्यस अवसरमा उहाँले ७० वर्षको आफ्नो जीवनमा देश, जनता र पार्टीका नेकार्यकर्ताले ठूलो साथ दिएको भन्दै आभार व्यक्त गरे ।
अध्यक्ष ओलीले भने, ‘म फेरि पनि भन्छु मेरो बाँकी जिन्दगी सम्पूर्ण जिन्दगी देशप्रति, जनताप्रति समर्पित गर्नेछु । कार्यक्रममा ओलीले विभिन्न कार्यक्रममा व्यक्त गरेका विचारहरुको संगालो ‘समवेत दृष्टि’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।






