काठमाण्डौ । अमेरिकी सहायता परियोजना एमसीसीको विषयलाई लिएर नेता र कार्यकर्ता मात्र नभई नेपाली जनतामा नै विभाजन देखिरहंदा अन्ततः विभाजित नेताहरुमा सहमति जुटेको छ । प्रतिनिधि सभामा पेस गर्न सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । एमसीसी अनुमोदनकालागी दलहरुबीच सहमति जुटेतापनि कार्यकर्ताहरु उक्त सहमतिको विपक्षमा उभिएका छन् । एमसीसी कुनैपनि हालतमा अनुमोदन गरिनु हुँदैन भन्दै कार्यकर्ताको एक पंतिले आन्दोलन नै गरेका छन् ।
उता आज सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा नेकपा माओबादी केन्द्र र एकीकृत समाजबादी पार्टी पनि संसदमा एमसीसी पेस गर्न दिने तर संशोधन बिना पारित गर्न नदिन सहमत भएका छन् । संसदमा एमसीसी पेस गरेर सांसदहरुलाई आफ्ना भनाइ राख्न दिने तर पारित गर्न आफूहरुको समर्थन नरहने माओबादी र एकीकृत समाजबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भनाइ छ ।
शीर्ष नेताहरुले बालुवाटारमा एमसीसी संसदमा पेस गर्ने सहमति जुटाएका छन् । तर सत्ताधारी दल माओबादी र एकीकृत समाजबादी पार्टीका कार्यकर्ता नै नयाँ बानेश्वरमा एमसीसी विरोधी प्रदर्शनमा अग्रपङ्क्तिमा देखिएका छन् । शीर्ष नेताले बालुवाटारमा सहमति गरिरहँदा नयाँ बानेश्वरमा भने माओवादी र एकीकृत समाजबादी पार्टीकै कार्यकर्ता भने सडक आन्दोलनमा रहनुलाई धेरैले अनौठो मानेका छन् ।






