काठमाण्डौ । अमेरिकाले एमसीसी परियोजना विशेषगरी नेपाल सरकार र नेपाली जनताबाट नै आग्रह गरिएको र यसलाई पारदर्शी रूपमा गरिबी न्यूनीकरण गर्ने तथा नेपालको अर्थतन्त्रमा वृद्धि गर्ने किसिमले तयार पारिएको बताएको छ । नेपालका लागि अमरिकी राजदूतावासले यसलाई अनुमोदन गर्ने वा नगर्ने भन्ने नेपालको निर्णय भएको बताएको छ ।
एमसीसी अनुमोदनका लागि अमेरिकाले नेपालमाथि ध म्की पूर्ण कूटनीति प्रयोग गरिरहेको आरोप उत्तरी छिमेकी चीनले लगाएको भोलिपल्ट शनिबार काठमाडौंस्थित अमरिकी दूतावासले एमसीसीको सामाग्री वेवसाइटमा राखेको छ । यो वर्ष नेपाल र अमेरिकाबीचको सम्बन्धको ७५औँ वर्ष भएको र यी ७५ वर्षमा नेपालमा ठूला परिवर्तनहरू भएको उल्लेख गर्दै वेवसाइटमा यी परिवर्तनमा अमेरिका नेपालको साथमा उभिएको बताइएको छ ।
‘हामी नेपालको साथमा उभिएका छौँ र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौँ’ अमेरिकी दूतावासले भनेको छ । अमेरिकाले नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने बताएको छ । ‘नेपाली नेताहरूले एमसीसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा, र यो केवल नेपालको निर्णय हो’ विज्ञप्तिमा भनिएको छ ।
५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी जनताको तर्फबाट उपहार भएको जनाइएको छ । ‘५० करोड डलर बराबरको यो मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुदान अमेरिकी जनताका तर्फबाट उपहार हो ।’ यो दुई मुलुकबीचको साझेदारी भएको जनाउँदै अमेरिकाले यसले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने जनाएको छ ।






