काठमाण्डौ । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले इन्गेज्मेन्ट गरेकी छन् । उनले किशोर कुईंकेल (किसु) सँग इंगेजमेन्ट गरेकी हुन् । दर्शनाले सामाजिक सञ्जालमार्फत् सारा ब्रह्माण्डलाई साक्षी राखेर टिका कार्यक्रम सम्पन्न गरेको जनाएकी छन् । रञ्जुलाई उनको नयाँ जीवनको शुरुवात गरेकोमा उनका शुभचिन्तकहरुले बधाई तथा सफल जीवनको कामना व्यक्त गरिरहेका छन् ।
‘आजदेखि जीवनको अर्को एउटा सुन्दर यात्राको शुभारम्भ भएको छ । दियो कलश र गणेश भगवान एवं परिवारका सदस्यहरू, निकट साथीहरु र सारा ब्राह्मणड साक्षी राखी फूलमाला, टीका कार्यक्रम सम्पन्न गरेका छौं ।’ उनले लेखेकी छन्,‘तपाईंहरूको आशीर्वाद र शुभकामनाको लागि हृदयदेखि कृतज्ञ ज्ञापन गर्न चाहन्छु । मायाको यात्रामा एक सशक्त जीवन साथी बनी हरदम साथ दिने मेरो हरेकदिन प्रयास रहने छ किसु। तिम्रो जीवनमा, परिवार मलाई खुल्ला हृदयले स्वागत गरेकोमा धेरै धन्यवाद किसु ।’
उनको विवाह कहिले हुने भन्ने खुलाइएको छैन । २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिकाको मेयरमा उठेपछि उनी चर्चामा आएकी थिइन् । त्यसपछि पनि पछिल्लो केही समय अघि मात्रै आफु आवद्ध भएको साझा पार्टी र पार्टीका अध्यक्ष रविन्द्र मिश्रको विषयमा बोलेर विवादमा पनि तानिएकी थिईन् । उनले साझा पार्टीमा आफुले विचार र सिद्धान्त अनुसार काम नभएको र हुन नसकेको भन्ने अभिव्यक्ति समेत दिएकी थिईन् ।






