काठमाण्डौ । आफुलाई अभियन्ता बताउँदै आएका ज्ञानेन्द्र शाही नेतृत्वको ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा विलय भएको छ । राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार आयोजित कार्यक्रममा राप्रपा र ‘हाम्रो नेपाल हाम्रो नेपाली अभियान’ बीच एकता घोषणा भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नवप्रवेशी ज्ञानेन्द्र शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेका छन् । यससँगै राप्रपामा प्रवक्ताको संख्या पाँच पुगेको छ । ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानका संयोजक शाही शुक्रबार मात्र राप्रपा प्रवेश गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहीलाई पार्टी केन्द्रीय सदस्य र प्रवक्ता मनोनीत गरेको घोषणा गरे । पार्टीले सुशासन विभाग बनाउने र शाहीलाई त्यसको प्रमुखसमेत बनाउने उनले बताए । शाही नेतृत्वको अभियानमा रहेका हरेकलाई पार्टीमा जिम्मेवारी दिने भन्दै उनले भने, ‘नेता कार्यकर्ता हुनुको केही सीमा हुन्छ, कार्यशैली परिवर्तन गर्नुपर्छ ।
तर सुशासनको अभियान अझ सशक्त भएर जान्छ ।’ लिङ्देनले ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का संयोजक ज्ञानेन्द्र शाहीलाई ‘जीवनकै सर्वोत्कृष्ट दिन’ मा रहेको बताएका छन् । संयोजक शाहीसहित ‘सुशासनका लागि हाम्रो नेपाल हामी नेपाली अभियान’का सदस्यहरुलाई शुक्रबार राप्रपामा औपचारिक रुपमा प्रवेश गराउँदै लिङ्देनले यस्तो बताएका हुन् ।
अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाही र उनको नेतृत्वको रहेको अभियानले जीवनमा कयौं राम्रो काम गरेको हुन सक्ने बताए । शाही र उनको समूहले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने, घुस नलिइ काम नहुने अवस्थामा प्रतिवाद गरेर सामान्य नागरिकलाई सरकारी सेवामा सहजता प्रदान गर्ने, विदेशमा अलपत्र परेका नागरिकको उद्धार गर्ने जस्ता कयौं राम्रा काम गरेको हुन सक्ने लिङदेनको भनाइ थियो ।
ती काम व्यक्ति विशेष, क्षेत्र विशेष र समूह विशेषका लागि केन्द्रित भए पनि आज राप्रपामा प्रवेश गर्ने काम सिंगो देश र धर्मका खातिर भएको भन्दै उनले यो काम जीवनकै उत्कृष्ट ठहरिएको बताए । राप्रपामा यसअघि नै भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल गरी चारजना प्रवक्ता र अरु तीन जना सहप्रवक्तामा मनोनीत भइसकेका छन् ।
शाही एमसीसीविरुद्ध राप्रपाका भ्रातृ संगठनहरुले गत बुधबार निकालेको जुलुसमा सहभागी भएका थिए। मंगलबार बसेको राप्रपा केन्द्रीय पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई पार्टीमा समाहित गर्ने महामन्त्री डा. धवलशमशेर राणा संयोजकत्वको वार्ता समितिको प्रस्ताव अनुमोदन गरेको थियो ।






