काठमाण्डौ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा। गुणाकार भट्टले राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन् । आज बिहीबारको कुराकानीमा प्रवक्ता भट्टले पछिल्लो समय कर्जा तथा निक्षेपको ब्याज दर बढाउनका लागि निर्देशन नदिएको बताएका छन् ।
उनले तरलता व्यवस्थापन गर्नका लागि वित्तीय साधन व्यवस्थापन गर्न आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने गरेको बताए । राष्ट्र बैंकले बैंकहरूलाई ब्याज निर्धारण गर्नका लागि स्वतन्त्र छाडेको प्रवक्ता डा. भट्टको भनाइ छ । उनले बैंकहरूमा तरलता माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय व्यवस्थापनमा दबाब परेको बताए ।
बैंकहरूले बैंकिङ प्रणालीमा धेरै तरलता हुँदा निक्षेपलाई प्रोत्साहन नगर्दा निक्षेपको ब्याज दर घट्ने गरेको उनले बताए । प्रवक्ता डा. भट्टले भने,‘राष्ट्र बैंकले बैंकहरूलाई ब्याज दर बढाउन कुनै निर्देशन दिएको छैन । बजारले तरलता व्यवस्थापनका लागि, वित्तीय साधन व्यवस्थापनका लागि आफू अनकूल बैंकहरूले ब्याज दर निर्धारण गर्ने हो ।
अहिले ब्याज दर निर्धारण गर्न बैंकहरूलाई स्वतन्त्र रूपमा छाडेको विषय हो । त्यसैले आवश्यक पर्दा तरलताको माग बढी हुँदा कर्जाको माग बढ्दा वित्तीय साधन परिचालनमा बैंकहरूलाई दबाब परेको हुन्छ । त्यसैले निक्षेपको लागत बढ्छ ।’
मौद्रिक नीतिको समीक्षा
प्रवक्ता डा.भट्टले राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा अहिले भएका नीतिगत व्यवस्थालाई पुनरावलोकन भएर आउने बताए । उनले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाले आर्थिक व्यवस्थापन र आर्थिक स्थायित्वमा जोड दिएको बताए ।
तरलता व्यवस्थापन
प्रवक्ता डा. भट्टले पछिल्लो १८ महिनाको बीचमा १३ खर्ब कर्जा विस्तार भएकाले बजारमा तरलताको दबाब कायम रहेको बताए । उनले चालु आर्थिक वर्षको सुरुदेखि कर्जा विस्तार र उच्च आयातका कारण तरलता समस्या भएको बताए । बैंक तथा वित्तीय संस्थाहरूको कुल लगानीमा रहेको कर्जा ४६ खर्बमा पछिल्लो डेढ वर्षमा मात्रै १३ खर्ब रुपैयाँ विस्तार भएको उनको भनाइ छ ।
उनले विस्तार भएको कर्जामा धेरैजसो हिस्सा आयातमा उपयोगी भएकाले बजारमा तरलता बढ्दै गएको बताए । डा.भट्टले राष्ट्र बैंकले तरलता व्यवस्थापनको सहजीकरण पनि गरिहेको बताए । उनले चालु आर्थिक वर्षको सुरुदेखि अहिलेसम्म पटक–पटक गरेर स्थायी तरलता सुविधाको माध्यमबाट ३९ खर्ब रुपैयाँ बजारमा पठाएको बताए ।
स्थायी तरलता बाहेक तीन सय ५० अर्ब अन्य मौद्रिक उपकरणहरू रिपो लगायत माध्यमबाट पठाएको उनको भनाइ छ । तरलता अभाव अर्थतन्त्रको विस्तार अथवा अर्थतन्त्रको सङ्कुचनसँग जोडिएकाले अर्थतन्त्र विस्तारसँगै कर्जाको माग बढ्ने, कर्जाको माग बढेसँगै बजारमा तरलतामा दबाब बढ्ने गरेको डा. भट्टले बताए ।
उनले अर्थतन्त्र सङ्कुचनमा जाँदा आर्थिक क्रियाकलाप शिथिल हुँदा तरलता प्राप्त हुने गरेको बताए । अब केही समयपछि बजारमा तरलता सहज हुने उनको भनाइ छ । उज्यालोबाट






