काठमाण्डौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको आजको छलफलमा पनि अमेरिकी सहयोग एमसीसीसँगको सम्भौता संसदमा पेस गर्नेबारे सहमति जुट्न सकेन । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटवार्तामा एमसीसी संसदमा पेस गर्ने विषयमा छलफल भए पनि सहमति नजुटेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटमा एमसीसी सम्झौता संसदमा अघि बढाउने विभिन्न विकल्पहरूबारे छलफल भएको र प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको अब बस्ने बैठकमा सम्झौता पेस गर्ने प्रस्ताव गरेकोमा दाहाल र नेपालले अहिलेकै अवस्थामा एमसीसी अघि बढाउन नसकिने बताएको सचिवालयले जनाएको छ । प्रतिनिधि सभाको बैठक पर्सि सोमबारका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमाले एमसीसी सम्झौताबारेमा संसदमा छलफल हुनुपर्ने पक्षमा छ ।
तीन नेताबीच आज भएको छलफलमा मन्त्रीपरिषद पूर्णताका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराउन प्रधानमन्त्री देउवा र माओबादी केन्द्रका अध्यक्ष दाहाल आफैँले दिएको समयसीमा सकिन अब १५ दिन मात्रै बाँकी छ । प्रधानमन्त्री देउवा एमसीसी संसदमा पेस गर्ने योजनामा प्रष्ट छन् भने सत्तागठबन्धनका अरु मुख्य घटक माओबादी र नेकपा एकीकृत समाजबादी संसोधन बिना एमसीसी अघि नबढाउने अडानमा छन् ।






