काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालय अन्तर्गतको अतिक्रमणमा परेका सरकारी सम्पति फिर्ता ल्याउन नसके आफू एक सेकेन्ड पनि मन्त्री पदमा नबस्ने चुनौति दिएका छन् । सरकारको दोहन भएको सम्पति फिर्ता ल्याउनु आफ्नो कर्तव्य भएको र त्यसकोलागी आफुले पुर्ण रुपले जिम्मेवारीका साथ काम गर्ने बताउँदै उनले यस्तो चुनौति दिएका हुन् ।
बिगतदेखि नै सरकारी जग्गाहरूमा अतिक्रमण भइराखेको भए पनि सम्बन्धित निकाय टुलुटुलु हेरेर बसेको भन्दै आफूले फिर्ता गराएरै छाड्ने मन्त्री आलेले दाबी गरे । उनले सरकारी नियुक्ति पाएका कर्मचारीले अन्य व्यक्तिसँग बसेर सेटिङ गरेको भेटिएमा सह्य नहुने भन्दै पदमा बसुन्जेल इमानदारपूर्वक देशका लागि काम गर्ने मन्त्री प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री आलेले भन्छन्,‘नारायणहिटी दरबार सङ्ग्रहालयको कुरा भयो, धर्मशालाको कुरा भयो । यदि यी सम्पत्ति फिर्ता ल्याउन सकेनौँ भने म त एक सेकेन्ड त्यहाँ बस्नेवाला छैन । मलाई त्यो नैतिकता पनि छैन । सरकारी सम्पत्ति दोहन भएको छ, त्यो फिर्ता ल्याउने कर्तव्य मेरो हो । सचिवजीको हो । हामी सबैको हो । गोठाटारमा सयौँ टहरा बनेर त्यहाँ अतिक्रमण भइराखेको छ ।
विगतदेखि हामी टुलुटुलु हेरेर बसेका छौँ । पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गर्न पाइन्छ रु खोइ त ध्यान गएको त्यहाँ रु त्यसका लागि सचिव महेश्वर न्यौपाने नै चाहिने रु प्रेम आले नै चाहिने मन्त्री ? विगतदेखि प्रणाली बिग्रेको अवस्था मैले देखेको छु । हामी जति दिन बस्छौँ, देशका लागि काम गर्छौँ ।’ नेपालका क्यासिनोहरूले विगतमा मन्त्रीसँग सेटिङ गरेर कर नतिर्ने गरेको भन्दै उनले अहिले मन्त्रालय कर उठाउन लागेको बताए ।
आफूले राम्रो काम गरिरहे पनि केही सञ्चारमाध्यम भने आफ्नो विरुद्धमा लागेको भन्दै उनले गलत समाचारमा विश्वास नगर्न सबैलाई आग्रह गरेका थिए । साथै उनले मन्त्रालयमा परिवर्तन देखिने गरी काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए । मन्त्री आलेले पर्यटन मन्त्रालयको पुँजीगत खर्च कम छ भनेर शिर निहुराउनुपर्ने अवस्था आउन नदिने गरी काम गर्न आग्रह गरेका थिए ।






