काठमाण्डौ । कुनै समयमा प्रचण्ड नामले मात्रै पनि जनतामा एक प्रकारको तरंग उत्पन्न हुने गर्दथ्यो । प्रचण्ड आफैमा एक नायकका रुपमा चिनिएका थिए । उनको अवतार अन्य नेताको जस्तो सामान्य मानिदैनथ्यो । उनी एक प्रशासक, शासक र नेताका रुपमा परिचित थिए । जस्तोसुकै कठिन परिस्थितिमा पनि कडा निर्णय गर्न सक्ने नेताका रुपमा चिनिएका थिए प्रचण्ड । तर अहिले उनै प्रचण्ड नेकपा माओबादी केन्द्रका अध्यक्ष भएरपनि ठोस् निणर्य लिन सकिरहेका छैनन् ।
यसबेला अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को विषयले प्रचण्डलाई दोधारमा उभ्याई दिएको छ । सार्वजनिक कार्यक्रम र समारोहमा एमसीसी सम्झौता संशोधनबिना अघि बढाउन नसक्ने बताउँदै आएका प्रचण्डले एमसीसी बोर्डलाई पठाएको लिखित पत्र सार्वजनिक भएपछि नैतिक बन्धनमा बाँधिँदै उनी दोबाटोमा उभिन पुगेका हुन् ।
देउवा र प्रचण्डले हस्ताक्षर गरेर पाँच महिनाअघि एमसीसीलाई पठाएको पत्रमा ‘एमसीसी पारित गर्ने तर त्यसका लागि समय चाहिने’ व्यहोरा उल्लेख छ । यस्तो पत्र सार्वजनिक भएपछि राजनीतिक वृत्तमा प्रचण्डले दोहोरो चरित्र देखाएको भन्दै आलोचना भइरहेको छ । गत असोजमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै अध्यक्ष प्रचण्डले संयुक्त हस्ताक्षर गरेर एमसीसी बोर्डलाई एमसीसी अनुमोदन गर्ने प्रतिवद्धता जनाएका थिए ।
तर, उक्त पत्र लामो समय गोप्य राखिएको थियो । जब अमेरिकाले समयसीमा तोकेर एमसीसी टुंगो लगाउन दबाब दिन थाल्यो, त्यसपछि प्रचण्ड थप अप्ठेरोमा पुगेका हुन् । पछिल्लो समयमा एमसीसीकै विषयमा प्रचण्ड र उनीद्धारा हस्ताक्षरीत पत्रलाई लिएर विभिन्न तहका व्यक्त्विहरुबीच निकै नै चर्काचर्किको बहस पनि शुरु भईरहेका छन् । जुन कुरालाई मिलाउन प्रचण्डलाई निकै नै हम्यहम्य परिरहेको बुझिएको छ ।






