काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छिन्न भिन्न हुंदै जान थालेको छ । सो पार्टीको सिंगो जुम्ला समिति नेकपा माओबादी केन्द्रमा ‘समाहित’ भएको छ। पुरै जिल्ला समिति नै पार्टीमा समाहित गर्न पाउँदा माओवादी अध्यक्ष प्रचण्ड भने खुसी भएका छन् । उनले माओवादीहरु अब एक हुँदै जान थालेको बताएका छन् ।
सरकारले निर्वाचन घोषणा गरेपछि तयारीमा होमिएका दलका नेताहरु अब पार्टी प्रवेशको कार्यक्रमलाई पनि तिब्र बनाउँदै छन् । मंगलवार बिहान खुमलटारमा आयोजित एक समारोहका बीच ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जुम्ला जिल्लाका इन्चार्जसहितको सिंगो जिल्ला पार्टी माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको हो ।
प्रचण्डको सचिवालयका अनुसार प्रचण्ड निवास (खुमलटार) मा आज मंगलबार बिहान आयोजित एक कार्यक्रमका बीच विप्लव नेकपाका जिल्ला इन्चार्ज चन्द्रवीर तिरुवा (नवीकिरण) सहित जिल्ला सेक्रेटरी, सह–सेक्रेटरीलगायतका २४ जनाभन्दा बढी नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्डले ढिलोछिटो माओवादी क्रान्तिका सहयात्रीहरू एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताए। परिवर्तनबाट प्राप्त उपलब्धि बचाउन र नेपाली जनताको भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक रहेको दाबी प्रचण्डले गरे ।
पार्टी प्रवेशपछि रवीकिरणले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको दाबी गर्दै अन्य कोहीले रहर गरेर नहुने बताए । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरु घर फर्किएको उनले बताए । ‘माओवादीलाई देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहको छन् ।’
प्रचण्डले भने, ‘हामी यति ठूलो परिवर्तनका वाहकहरू विघटन वा विभाजनतिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’ अहिले बिस्तारै विभाजनका घाउ बिर्सिंदै र देशको वस्तुगत अवस्था मनन गर्दै माओबादीहरू एक ठाउँमा केन्द्रित हुँदै गएको दाबी उनले गरे ।






