काठमाण्डौ । अमेरिकी सहयोग एमसीसीलाई लिएर सत्ता साझेदार दलहरुबीच सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री शेर वहादुर देउवा अब कुनै पनि हालतमा एमसीसी पास गर्ने मनस्थितीमा छन् भने माओवादी र समाजवादी यथास्थितीमा पास गर्न नहुने बताउँछन् । सुरुमा एमसीसीको विरुद्ध निकै खरो उत्रिएको माओबादीलाई अब एमसीसीका पक्षमा जनमत बनाउन निकै समस्या भएको छ ।
पार्टी भित्र तिब्र विवाद भएपछि प्रचण्डलाई पनि देउवालाई एमसीसी संसदमा लैजाने कुरामा सहयोग गर्न समस्या भएको छ । पार्टी भित्र एमसीसीका बारेमा धारणा बनाउन गरिएको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे जनमत संग्रहबाट निर्णय लिनपुर्ने बताएका छन् ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार सिंहदरबारमा बसेको बैठकमा सांसद किरातीले एमसीसीलाई गोलमेच सम्मेलन वा जनमत संग्रह गरेर टुंग्याउनुपर्ने कुरा राखेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई पत्र लेखेर गल्ती गरेको पनि सांसद किरातीले बताएका छन् ।
‘हामीले सकिन्छ भने जनमत संग्रह गरौँ । सकिँदैन भने गोलमेच सम्मेलन गरेर एउटा आवाज बनाऊँ ।’ उनले भने, ‘यद्यपि एमसीसी राष्ट्रघाती नै हो ।’ एमसीसी राष्ट्रिय स्वाधीनतासँग जोडिएकाले पनि जनमतसंग्रह वा गोलमेच सम्मेलन गर्नुपर्ने तर्क उनले दोहोर्याए । बैठकमा किरातीले एमसीसीलाई संसदको सामान्य बहुमतले पास गर्न नहुने पनि बताएका छन् ।






