काठमाण्डौ । राप्रपाका असन्तुष्ट निर्वतमान अध्यक्ष कमल थापाले पार्टी केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । थापाले पार्टीभित्र देखिएको समस्या र आफ्नो मागको विषयमा छलफल गर्न भन्दै केन्द्रीय सदस्यहरु सोमबार भेला बोलाएका हुन् । राजधानीको सुकेधारास्थित एक पार्टी प्यालेसमा सोमबार भेलाको आयोजना हुनेछ ।
‘सबै केन्द्रीय सदस्यलाई निमन्त्रणा गरेका छौं । त्यसमा थापाले आफ्नो माग र अहिले राप्रपाभित्र देखिएको समस्याको बारेमा केन्द्रीय सदस्यहरुसँग छलफल गर्नु हुनेछ,’ थापा निकटका केन्द्रीय सदस्य राजाराम बर्तौलाले भने । गत मंसिरको दोस्रो साता भएको महाधिवेशनमा पराजित भएदेखि असन्तुष्ट रहेका थापाले निर्वाचन प्रक्रियामा पूर्वराजा ज्ञानेन्द्र शाह तथा निर्मल निवासले खेलेको भूमिकाको बारेमा पार्टीले छानबिन गर्नुपर्ने माग गर्दै आएका छन् ।
अध्यक्ष राजेन्द्र लिङ्देनले सो मागको विषयमा पार्टीभित्र छलफल हुन नसक्ने बताएका छन् । थापाले पार्टीभित्र आफूलाई किनारामा पार्न खोजिएको र त्यसले राप्रपालाई क्षति पुर्याउने चेतावनी दिएका थिए । यस विषयमा थापाले अध्यक्ष लिङ्देनलाई दुई पटक पत्र लेख्दै ध्यानाकर्षण गराइसकेका छन् । जसमा थापाले आफूलाई पार्टीभित्र किनारामा पार्न खोजिएको थियो ।
यसैबीच, शनिबार राप्रपाका अध्यक्ष लिङ्देनले थापासँग उनकै निवास बुढानीलकण्ठ गएर भेट गरेका छन् । महाधिवेशनमा उम्मेदवार पछि पहिलो पटक दुवै नेताहरुबीच भेट भएको थियो । थापाले निवासमा लिङ्देनलाई फूलमाला लगाएर स्वागत गरेका थिए ।
भेटमा पनि थापाले महाधिवेशनमा पूर्वराजा शाह र निर्मल निवासको भूमिका बारेमा छानबिनको विषयमा उठाएका थिए । तर, नवनिर्वाचित अध्यक्ष लिङ्देनले थापाको मागले आफू निर्वाचित भएको विषयको वैधानिकतामाथि प्रश्न उठाएको भन्दै त्यसलाई अस्वीकार गरेको थिए । कान्तिपुुरबाट






