काठमाण्डौ । बालुवाटारमा तीन दलका ५ जना नेताको छलफल जारी छ । केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, काँग्रेस नेता समेत रहेका सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, नेकपा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल तथा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी छन् ।
नेताहरुबीच एमसीसी, स्थानीय निर्वाचन र संसद अवरोध खुलाउने तीन एजेण्डा रहेको माओबादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले जनाएकी छन् । एमसीसीबारे तीन दलका नेताहरुको बुझाई फरक फरक छ भने स्थानीय निर्वाचनका सम्वन्धमा तीनै दल लगभग एक ठाउमा रहेपनि प्रमुख प्रतिपक्षबाट भइरहेको संसदको अवरोध खुलाउने विषयमा पनि दलहरु एकमत छैनन् ।
योपनि सभामुख अग्निप्रसाद सापकोटालाई कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भेटी एमसीसी प्रतिनिधि सभाको बैठकमा पेश गर्ने तयारीबारे जानकारी गराएका छन् । उनले आज सभामुखलाई सिंहदरबारस्थित कार्यकक्षमा भेटी त्यसबारे जानकारी गराएका हुन् । बडूले एमसीसी प्रतिनिधिसभाको आगामी बैठकमा पेश गर्ने तयारीबारे भनेका थिए । उनले त्यसका लागि प्रक्रिया मिलाउन भनेका थिए ।
सभामुख सापकोटाले भने प्रतिनिधि सभाको बैठकमा अवरोध भइरहेको विषय राखेका थिए । दलहरुले बैठक नियमित गर्ने पहल गर्नुपर्ने भनेका थिए । उनले एमसीसीबारे दलहरुबीच सहमतिमा समेत जोड दिएको बुझिएको छ । प्रधानमन्त्री देउवा एमसीसी पारित गर्न अगाडि बढिरहँदा कानूनमन्त्री बडूले सभामुख सापकोटालाई भेट्नुलाई अर्थपूर्ण मानिएको छ ।
माओबादी अध्यक्ष एमसीसी पारित गर्न तयार नभए सापकोटाले एमसीसी टेबुल नगर्ने आँकलन गरिएको छ । सापकोटाले विगतमा पनि एमसीसीबारे राष्ट्रिय सहमति या गठबन्धनबीच सहमतिमा जोड दिएका थिए । एमसीसी टेबुल गर्न नमाने देउवाले ओलीसँग मिलेर सभामुख सापकोटालाई हटाउने प्रस्ताव समेत ल्याउने तयारी गरेको चर्चा छ । यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ ।






