हुम्ला । हिमपातले देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो ।
बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
सतबाँझ क्षेत्रको हिमपातले महाकाली राजमार्ग र अनारखोली, खोड्पे क्षेत्रको हिमपातले दशरथचन्द राजमार्ग बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् । हिउँ पर्ने क्रम रोकिएको छैन । वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् ।
हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । यसैबीच कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ ।
नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि प्रभावित बनेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले बताएका छन् । यो समाचार उज्यालो अनलाईनमा छ ।






