काठमाण्डौ । नेपालमा केही दिनयता कोभिड–१९ (कोरोना भाइरस) का नयाँ सङ्क्रमितको सङ्ख्या घट्दै गईरहेको छ । तर सङ्क्रमितको सङ्ख्या घट्दै गईरहेको बेला ज्यान गुमाउनेको सङ्ख्या भने बढ्दै गईरहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १४ जनाले ज्यान गुमाएका छन् ।
तीन हजार एक सय ७५ जना नयाँ सङ्क्रमित थपिएकामा १४ जनाले ज्यान गुमाएका हुन् । गएको बिहीवार पनि एकै दिन १५ जनाले ज्यान गुमाएका थिए । तर त्यो दिन कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आजभन्दा झन्डै तीन गुणा बढी थियो । त्यसपछि एक हप्ताको तुलनामा कोरोनाका नयाँ थपिनेको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको छ ।
गएको १४ गते शुक्रवार ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएकोमा १० जनाको ज्यान गएको थियो । यस्तै शनिबार चार हजार नौ सय चार जनामा सङ्क्रमण पुष्टि भएकोमा ६ जनाको ज्यान गएको थियो । आइतवार तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएकोमा ३२ जनाको ज्यान गएको विवरण प्राप्त भएको थियो ।
यस्तै १७ गते सोमवार पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएकामा आठ जनाको ज्यान गएको थियो । मङ्गलबार १८ गते पाँच हजार पाँच सय ८३ जनामा सङ्क्रमण पुष्टि भएकोमा नौ जनाको ज्यान गएको थियो । केही दिनयता थपिएका सङ्क्रमितको तुलनामा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् ।
उनका अनुसार मृत्युुदर बढ्नुको कारण सङ्क्रमितमा जटिलता हुने क्रम बढ््नु हो । अहिलेका कोेरोना सङ्क्रमित केही दिनमै निको हुने भएकाले सङ्क्रमण घटेका र जटिलता अलि लामो समय रहने भएकाले अहिले ज्यान गुमाउनेको सङ्ख्या बढेको उनले बताए ।
यस अगाडिका दुई वटा महामारीमा पनि ज्यान गुमाउनेको सङ्ख्या सङ्क्रमितको सङ्ख्या उच्च विन्दुमा पुगेर घट्न थालेपछि देखिएको उनले बताए । डा. अधिकारीको भनाई अनुसार अबको केही दिनमा बिस्तारै ज्यान गुमाउनेको सङ्ख्या पनि घट्दै जानेछ ।






