काठमाण्ड । राजस्व देशको रगत–पसिना रहेको भन्दै अर्थमन्त्री जनार्दन शर्माले त्यसलाई बगेर गएको टुलुटुलु हेरेर बस्न नसकिने बताएका छन् । मङ्गलबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकलाई भर्चुअल माध्यममार्फत सम्बोधन गर्दै उनले राजस्व चुहावटलाई जसरी पनि रोक्नुपर्ने बताएका हुन् ।
अर्थमन्त्री शर्माले राजस्व चुहावटलाई नियन्त्रण गर्न तुरुन्त कदम चाल्नुपर्नेमा जोड दिए । ‘राजस्व भनेको राष्ट्रको रगत पसिना हो । यो बगेर गइरहेको छ’, उनले भने, ‘यो हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ । त्यस कारण त्यसको नियन्त्रणको कार्य आजैदेखि काम शुरु गर्नुपर्छ ।’ यसका लागि आवश्यक बजेट तथा अन्य व्यवस्था गर्न अर्थ मन्त्रालयले कुनै कन्जुस्याइँ नगर्ने पनि बताए ।
राजस्व चुहावट नियन्त्रण गर्न अपरेशन आवश्यक रहेको भन्दै अर्थमन्त्री शर्माले यसलाई गृह मन्त्रालय र प्रहरी प्रशासनले विशेष प्राथमिकतामा राख्नुपर्ने बताए । साथै यो अपरेशनका लागि विशेष टोली बनाइने पनि उनले बताए । यस सँगसँगै नीतिगत सुधारलाई पनि लिएर जानुपर्ने उनको भनाइ छ । यद्यपि अहिले संसदबाट नीति निर्माण गर्न असहज भइरहेका बेला मन्त्रीस्तरीय तथा मन्त्रिपरिषदबाट सम्भव भएसम्म नीतिगत परिवर्तन तथा सुधार गरिने पनि बताए ।
मन्त्री शर्माले कतिपय राजस्व चुहावट आम मानिसमा चेतना नहुँदा पनि भइरहेको भन्दै यस्लाई रोक्नकोलागी सचेतनामूलक सन्देश फैलाउन पनि आवश्यक रहेको उनले बताए । यसरी सन्देश फैलाएर सर्वसाधारणलाई सचेत बनाएर सम्पूर्ण निकाय, आम जनता लगायत सरोकारवाला सबै मिलेर राजस्व
चुहावटविरुद्ध लागे ८० देखि ९० प्रतिशतसम्म चुहावट नियन्त्रण गर्न सकिने उनको दाबी छ ।
त्यस्तै अर्थमन्त्री शर्माले नाकामा रहेका प्रहरी, कर्मचारीलगायतलाई तालिमको व्यवस्था गर्ने, द्रूत गतिमा संरचनागत तथा प्रविधिको विकास गर्ने लगायतका कार्यले पनि राजस्व चुहावटमा कमी ल्याउन सकिने बताए । पछिल्लो समय डिजिटल प्रविधिमार्फत राजस्व चुहावटका घटना बढेका छन् । क्रिप्टोकरेन्सी, डिजिटल क्यासिनो, डिजिटल नेटवर्किङलगायतका कार्य भइरहेका छन् ।
यससँगै आय खर्चको गलत घोषणा गर्ने, कानुनको गलत व्याख्या गर्ने, नक्कली बिजक तथा अन्तःशुल्क स्टिकरको प्रयोग गर्ने, भन्सारविन्दुको नजिकै गोदाम राखेर चोरी पैठारी गर्ने लगायतका प्रवृत्ति देखिँदै आएका छन् । त्यस्तै भन्सारबाट सुन, चाँदी, विद्युतीय सामग्री, पशु चौपाया, घरायसी मालवस्तुलगायतमा राजस्व चुहावट बढी हुने गरेको बताउँदै यस्ता कार्यलाई तुरुन्तै रोक्नु पर्ने उनले बताए ।






