काठमाण्डागै । ओ ङोलो……..आज तिमी सिमि नासाको आवासी भए पनि, मलाई बिश्वास छ । तिमीले बिर्सेका छैनौं । हाम्रो अमर प्रेम, सदियौं पहिले क्होँलासोथारको समथर नागीहरुमा भेडी गोठ लिएर जाँदा, अन्नपुर्णको स्फटिक बदन छोएर, हामीले हाम्रो प्रेमको कसम खाएका थियौं ।
नियतीको खेलमा परि, लिलामी छाती लिएर तिमी लाहोर गयौ । तर अपसोच……….पराई भूमिमा सहिद भयौ । थाहा छ नी तिमीलाई ? रोधीघरमा टुसाएको थियो हाम्रो प्रेम । मंशिरे मेलामा वयस्क भएको थियो ।
मेरो प्यारो ङोलो, अद्योपान्त गुल्जार छन् ति पहाडी गाउँहरु, जहाँ हामी कौडा र छ्याडुँ नाच्थ्यौं । सोरठी र चुड्काको लयमा कम्मर भाच्थ्यौं । तिमी पो मेरो आस्योंले पुज्ने, कुलको बासिन्दा भैगयौं । तर तिम्रो यादहरु………..
हरेक साल सरदको ठिही बनेर मेरो घलेक छेड्न आउँछ । तिम्रो प्रश्वासहरु बतास बनेर हरपल मलाई भेट्न आउँछ । प्राचिन त्यो प्रेमिल पलहरु धुवाँ धुवाँ बनेर मेरो ब्रम्हाण्डमा हरक्षण रगमगाइरहन्छ ।
हाम्रो अनन्त प्रेममा, म जस्तै तिमी यति विभोर थियौं की, त्यही अन्नपुर्णको श्रृंखलाबद्ध हिमाल्हादित छातीमा रगतले हाम्रो नाम लेखिदियौ । पवित्र प्रेमको वैभवले आलंकृत स्वचालित मेरा हत्केलाहरुले तिमीलाई हिउँराशीको क्रेंगी पहिराईदिएँ । समयको धार सँगसँगै युगका पानाहरुमा बग्दा बग्दै
रगतले लेखेको हाम्रो नाम अलि तल भिर तिर आइ पुग्दा लालीगुराँस भएर फुलेछ । जो अद्यावधि फुलीरहेछ । घामका बैंसालु किरणस्पर्शहरुले वशिभूत तिम्रो शिरको क्रेंगी पग्लिदा पग्लिदै, अलि तल खोंच तिर झरेपछि, नदि भएर बगेछ । जो आज पर्यन्त बगीरहेछ । र युगौं युग यसरी नै फुलीरहनेछ । र युगौं युग यसरी नै बगिरहनेछ ।
कवियत्री मिश्रा गुरुङ







