काठमाण्डौ । अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गर्ने कि नगर्ने भन्ने विवादले सत्ता गठबन्धनभित्र तनाव बढेको छ । गठबन्धनका अन्य दलले भने एमसीसी अहिलेकै अवस्थामा पारित गर्न नसकिने अडान राख्दै आएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्को चालु अधिवेशनबाटै एमसीसी पास गर्नुपर्ने प्रस्ताव अगाडि सारेका छन् ।
प्रधानमन्त्री देउवाले एमसीसी पारित नभएको अवस्थामा गठबन्धन नै टुट्न सक्ने चेतावनी दिएको स्रोतको भनाइ छ । सत्ता गठबन्धनमा आबद्ध चार दल नेकपा माओबादी केन्द्र, नेकपा एकीकृत समाजबादी, जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चा अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।
प्रधानमन्त्री भएपछि देउवाले अहिले तेस्रोपटक एमसीसी पारित गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन् । सत्ता गठबन्धनकै दलहरूको असहयोगका कारण यसअघि उहाँ एमसीसी अगाडि बढाउन असफल भएका हुन् । देउवाले एमसीसीको विषयमा सहमति जुटाउन आइतबार एकीकृत समाजबादीका नेता खनाल र माओबादीका नेता श्रेष्ठसँग छलफल गरेको देउवाको सचिवालयका एक सदस्यले बताए ।
उनका अनुसार देउवाले एमसीसीमा राष्ट्रघाती विषय कहीं पनि नभएको भन्दै अगाडि बढाउन प्रस्ताव गर्नुभएको थियो तर दुवै नेताबाट सकारात्मक जवाफ आएन । एमसीसी अगाडि बढाउन प्रधानमन्त्री देउवाले सक्रियता देखाए पनि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजबादीका अध्यक्ष माधवकुमार नेपाल भने मौन रहेका छन् ।
दुबै नेताले अहिलेकै अवस्थामा एमसीसी पारित हुन नसक्ने अडान राख्दै आएका छन् । माओबादी केन्द्रका नेता देव गुरुङले अहिलेकै अवस्थामा एमसीसी पारित गर्न नसकिने जिकिर गर्दै भने– ‘राष्ट्रभन्दा माथि एमसीसी हुन सक्दैन, राष्ट्रिय सहमति निर्माण नहुँदासम्म एमसीसी अगाडि बढन सक्दैन ।’ सत्ता गठबन्धनभित्र विवाद भएपछि एमसीसी अगाडि बढाउन तीन सदस्यीय कार्यदल गठन गरिएको थियो ।
एकीकृत समाजबादीका सम्मानित नेता झलनाथ खनाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको तीन सदस्यीय कार्यदलले प्रधानमन्त्रीलाई सुझाव पनि दिइसकेको छ । कार्यदलमा सहभागी नेता खनाल र श्रेष्ठले परिमार्जन गरेर एमसीसी अगाडि बढाउनुपर्ने सुझाव दिए पनि कार्कीले भने तत्काल अगाडि बढाउनुपर्ने सुझाव दिएका थिए ।
सत्ता गठबन्धनभित्र सहमति जुट्न नसकेपछि केही समयअघि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उहाँकै निवास बालकोटमा पुगेर भेटवार्ता गरेका थिए । ओली नेतृत्वको सरकारले पनि एमसीसी अगाडि बढाउन चाहेको थियो । तर, तत्कालीन नेकपाभित्रै विरोध भएपछि तत्कालीन प्रधानमन्त्री ओलीको प्रयास असफल भएको थियो ।
अध्यक्ष ओलीले सत्ता गठबन्धनको धारणा सार्वजनिक भएपछि मात्र आफ्नो पार्टीले निर्णय लिने बताउँदै आएका छन् । सत्ता गठबन्धन नै संकटमा पर्ने अवस्था सिर्जना भएपछि माओबादी र एकीकृत समाजवादी पार्टीको दबाबमा सभामुख अग्नि सापकोटाले आइतबार बोलाइको संसद् बैठक माघ २६ गतेसम्मका लागि स्थगित गरेका छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।






